अपीच्यको ५० प्रतिशत एडिटिङ सम्पन्न
SamacharDesk – बिराज | २०७७ चैत्र २०, शुक्रबार

डेल्टा मल्टिमिडिया प्रोडक्सन र नेपाः च्यानलको ब्यानरमा बन्दै गरेको नेपाली हरर चलचित्र ‘अपीच्य’ को भिडियो एडिटिङको काम धमाधम भइरहेको छ ।
समाचारडेस्कसँग कुरा गर्दै निर्देशक प्रदिप खड्गीले अहिले चलचित्रको भिडियो एडिटिङ लगभग ५० प्रतिशत सम्पन्न भएको बताए ।
गत फाल्गुन २० गते ललितपुरमा शुभ मुहुर्त गरी चलचत्रिको सुटिङ शुरु गरिएको थियो । करीब १२ दिनमा चलचित्रको सम्पूर्ण सुटिङ सम्पन्न भएको निर्देशक खड्गीले जानकारी दिनुभयो ।
‘स्टोरी बोर्ड, क्यामेरा फ्रेमिङ, कलाकाहरुसँग वर्कशप आदि लगायतका होमवर्कमा हामीले ३ महिनाभन्दा बढि समय दियौं, तयारी चुस्त भएकोले सुटिङ चाँडै सम्पन्न गर्न सक्यौं’ खड्गीले बताए ।
भिएफएक्सको पनि केही मात्र काम बाँकि रहेको खड्गीले बताए ।
निर्देशक खड्गीले यस अघि कीर्तिपुर, द लेजेन्ड अफ कीर्तिलक्ष्मीको निर्देशन गरिसकेका छन् भने उनले निर्देशन गरेको लघु चलचित्र साःगःले लघु चलचित्र प्रतियोगीतामा प्रथम पुरस्कारसमेत जितेको थियाे ।
‘अपीच्य’ हरर फिल्म भएपनि यो चलचित्र अलि फरक ढङ्गको रहेको निर्माता भाइकाजी महर्जनले बताए ।
‘हरर भनेर यसमा हामीले भूत नै देखाउन लागेका छैनौं, फरक सोच राखेर चलचित्र निर्माण गरेका छौं’ निर्माता महर्जनले भने ।
चलचित्रमा नेपालभाषाको चलचित्र क्षेत्रका चर्चित कलाकार सुरज व्यन्जनकार, सुशील राजोपाध्यायको साथमा नेपाल टेलिभिजनको शुरुवाती समयमा समाचारवाचिका र कार्यक्रम प्रस्तोता रचना सिंह र चर्चित कलाकार रवि गिरिसमेतको भूमिका रहेको छ ।
आउँदो जेठ महिनामा चलचित्र सार्वजनिक गर्ने लक्ष्य रहेको निर्माण समूहले जनाएको छ ।
Categorized in पेजथ्री