arin enterprises

‘सुथसिया निभाः म्ये कासा’मा ५७ जनाको सहभागीता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ श्रावण ७, बुधबार

गायक पुरु श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीतामा जम्मा ५७ जनाले सहभागीता जनाएका छन् ।

हिजो (मंगलवार) प्रतियोगीतामा भाग लिने अन्तिम दिन श्रावण ६ गतेसम्ममा ५७ जनाले उक्त गीत कभर गरी प्रतियोगीतामा सहभागीता जनाएका हुन् ।

प्रतियोगीतामा नेपालको साथमा नेपाल बाहिरबाट, बाल प्रतिभाहरु र गैर नेवारबाट समेत सहभागीता जनाइएको प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले जानकारी दिए ।

‘प्रतियोगीतामा अस्ट्रेलियाबाट पनि सहभागीता जनाइएको छ भने ३ जना बाल प्रतिभा र एक जना गैर नेवारबाट समेत सहभागीता भएको छ । सहभागीको संख्या र सकारात्मक प्रतिक्रियाले हामीलाई उर्जा दिएको छ’ संयोजक राजोपाध्यायले भने ।

फरक भूगोल, फरक समुदाय र फरक उमेर समूहको सहभागीताले आफुलाई निकै खुसी लागेको गायक श्रेष्ठले पनि भने ।

‘आफ्नो गीत बालबालिकाको साथै ज्येष्ठ नागरिकले पनि गाएको सुनें । नेपाल बाहिरबाट पनि, नेवार समुदाय इतरले पनि आफ्नो गीता गाएको सुन्दा म हौसिएको छु’ गायक श्रेष्ठले भने ।

आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसनले पत्रकार सम्मेलनमार्फत घोषणा गरी गत जेठ १० गतेबाट प्रतियोगीताको सुरुवात गरेको थियो । सहभागीताको लागि सुरुमा एक महिनाको समय दिँदै असार ८ गतेसम्मको मिति घोषणा गरिएको थियो ।

पछि असार ८ गते बेलुकी संयोजक राजोपाध्यायले फेसबुक लाइभ मार्फत धेरैको आग्रह अनुसार भन्दै अर्को एक महिना थप भएको घोषणा गर्दै श्रावण ६ गतेसम्मको समय दिइएको थियो ।

‘गीत सुनेर, अभ्यास गर्दै गाउनलाई एक महिनाको समय पुगेन भनेर धेरैको गुनासो आएर त्यो बेला एक महिना थपिएको थियो । अहिले पनि समय थप्नुपर्यो भनेर धेरैले भनेका छन् तर, अब भने समय थप्न अलि अप्ठ्यारो नै छ’ राजोपाध्यायको भनाई हो ।

अब चाँडै नै सहभागीहरुलाई धन्यवाद स्वरुप प्रमाण पत्र वितरण कार्यक्रम गर्ने जानकारी पनि राजोपाध्यायले दिए । विजेता घोषणा कार्यक्रम तिहार अघि आयोजना गर्ने योजना रहेको आयोजक संस्थाले जनाएको छ ।

विजेताहरुलाई आफ्नै एउटा गीत रेकर्डिङ, म्यूजिक भिडियो सुट, फोटो सुट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिने आयोजकले जनाएको छ । 

Categorized in पेजथ्री