arin enterprises

भारतमा टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १६, मंगलबार

भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । 

भारत सरकारले प्रेस विज्ञप्ति जारी गर्दै भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ ।

चीनसँग सीमा विवाद रहेको लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएको केही दिनपछि भारत सरकारको यस्तो निर्णय आएको हो ।

भारतले टिकटक, वीच्याट, यूसी ब्राउजर र शेयर इट जस्ता चर्चित एपहरुमा प्रतिबन्ध लगाएको छ । यी एपहरु भारतमा निकै प्रयोगमा रहेको मानिन्छ ।

प्रतिबन्ध लगाइएका एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ । 

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाएको हो ।

तर भारत सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको भने छैन ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार पारित गरेका थिए ।

भारतमा अब ती एपहरू एन्ड्रोयड र आईओएस दुवै अपरेटिङ् प्रणाली भएका मोबाइल फोनमा प्रतिबन्धित हुनेछन् ।

भारत मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार पनि हो ।

भारतमा चिनियाँ सामान बहिष्कारको लहर बेलाबेलामा चल्ने गरेको छ तर भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको पनि छ ।

Categorized in विज्ञान-प्रविधी