arin enterprises

काठमाडौंमा विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

काठमाडौंका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । यसैक्रममा चन्द्रागिरीबाट मात्रै ४ जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर टिस्टुङ गाउँपालिका–७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भई धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५१८६ नम्बरको बसलाई प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई झोलामा लुकाई ल्याएको उक्त धुलोसहित फेला पारेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–१२ सिजीगेट अगाडिबाट लागूऔषध २२ पीस नाइट्राभेट र १ थान खुकुरीसहित २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बाँके नेपालगंज उपमहानगरपालिका–८ का २८ वर्षीय कृपाराम चमार र काभ्रे नमोबुद्ध नगरपालिका–१ का २५ वर्षीय आकाश तामाङ पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको बल्खुबाट १९ थान फेनारगन, १९ थान नुर्फिन र १९ थान डाइजेपामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका–१० का २५ वर्षीय निरज परियार र रौतहट थमुनामाई गाउँपालिका–५ का २१ वर्षीय रवि यादव रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध