नारी दिवसको अवसरमा महिला फिल्मकर्मीहरु सम्मानित
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २८, सोमबार

नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसरमा सात जना महिला फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।
नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने सात जना महिला फिल्मकर्मीहरुलाई बोर्डले सम्मान गरेको हो ।
नायिकाहरू सरिता लामिछाने, प्रियंका कार्की, केकी अधिकारी, निर्देशक रेनशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, रंग पत्रकार शारदा थापालाई कार्यक्रममा सम्मानित गरिएको थियाे ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मानित सात जना महिला फिल्मकर्मीलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरिन् ।
पदभार ग्रहण लगत्तै कार्यक्रममा पुगेकी मन्त्री शर्माले फिल्म क्षेत्रमा निरन्तर क्रियाशील महिलाहरूलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।
बोर्डका अध्यक्ष भुवन केसीले मन्त्री शर्मासँग बोर्डले धेरै कार्य योजना निर्माण गरिसकेको अवस्थामा पुनः शर्मा र्न मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको बताए ।
सोही कार्यक्रममा ‘चलचित्रमा नारी’ विषयमा दुई वटा अन्तरक्रिया समेत आयोजना गरिएको थियो ।
‘महिला सशक्तीकरणमा महिला चलचित्रकर्मीको भूमिका, हिजो आज र भोलि’ विषयमा नायिकाहरू गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षा सिंह राणाले अन्तरक्रिया गरेका थिए ।
त्यस्तै, ‘नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती’ विषयमा पनि संवाद गरिएको थियो । संवादमा नायिकाहरू भुवन चन्द, करिश्मा मानन्धर, शिल्पा मास्केले आ–आफ्नो बिचार राखेका थिए ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको पनि उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री