arin enterprises

तोशिबा कम्पनीको ७४ वर्ष पुरानो विरासत समाप्त

SamacharDesk – बिराज | २०८० पौष ६, शुक्रबार

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रुपमा आफ्नो युग समाप्त भएको घोषण गरेको छ ।

एकताका विद्युतीय उपकरणमा जापानी प्रभुत्व कायम राख्न सफल मानिने जापान इङ्क नामक कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेपछि आफ्नो ७४ वर्षे इतिहासको अन्त्य गर्दै टोकियो स्टक एक्सचेञ्जको सूचीबाट हटेको हो ।

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा  ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो ।

हाम्रै घरमा पनि टीभी, स्पिकर वा अन्य जरुरी विद्युतीय सामग्रीमध्ये कुनै न कुनै तोशिबा कम्पनीकै हुने गर्छ ।

सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौं डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी संकटमा फसेको थियो ।

जापानको सबैभन्दा प्रसिद्ध औद्योगिक विरासत भएको कम्पनी कसरी ढल्यो ?

सन् २०१५ मा कम्पनीका विभिन्न शाखाहरुमा व्याप्त लेखा सम्बन्धी थुप्रै गडबडीको विषय बाहिर आयो । सात वर्षमा तोशिबाले आफ्नो नाफा १.५९ अर्ब अर्थात् १.२५ अर्ब युरोले बढी देखाएको थियो ।

सन् २०१६ को अन्त्यतिर तोशिबाले न्युक्लियर पावर प्लान्ट निर्माणसँग सम्बन्धित कयौं अर्ब डलरको रकम फिर्ता लिने बतायो, जुन त्यसको एक वर्ष अघि मात्र अमेरिकी युनिटको वेस्टिङ हाउस इलेक्ट्रिकले खरिद गरेको थियो ।

त्यसको तीन महिनापछि तोशिबाको परमाणु व्यवसाय सम्बन्धी अमेरिकी सब्सिडरी कम्पनी वेस्टिङहाउस ताट पल्टेपछि तोशिबाले छ अर्बभन्दा बढीको दायित्व झेल्नु पर्‍यो ।

उसले मोबाइल फोन, मेडिकल प्रणाली र होम अप्लायन्सेस सहितका व्यवसाय पनि बिक्री गर्‍यो । त्यसपछि उसलाई चिप युनिट तोशिबा मेमोरी बिक्री गर्नुपर्ने बाध्यता पनि आयो । त्यही समयमा अन्य कम्पनीहरु भविष्यको प्रविधि र नवप्रवर्तनमा भारी मात्रामा लगानी गरिरहेका थिए, तर तोशिबा भने नगद जुटाउन आफ्नो बहुमुल्य सम्पत्ति बिक्री गर्न खोजिरहेको थियो ।

सन् २०१७ को अन्यतिर तोशिबाले टोकियो स्टकको सूचीकरणबाट हट्नुपर्ने अवस्था टार्न विदेशी लगानीकर्ताहरुबाट जेनतेन ५.४ अर्ब डलर नगद जुटायो । तर त्यससँगै शेयरहोल्डरहरुबीच कम्पनीको भावी दिशाबारे विवाद उत्पन्न भयो । त्यसपछि विज्ञहरूले यसको कारण जापानको स्टकमा लगानी गर्ने सवालमा विदेशी लगानीकर्तामा अनिश्चयको वातावरण सिर्जना गरिदिएको भनेका थिए । जसले केवल तोशिबामा मात्र नभएर जापानको समग्र स्टक मार्केटमै समस्या सिर्जना गर्‍यो ।

त्यसबाट ब्याट्री, चिप र न्युक्लियर तथा प्रतिरक्षा उपकरण निर्मातालाई पक्षघात गर्ने लामो लडाई निम्तियो । कम्पनीलाई साना कम्पनीहरुमा विभाजित गर्न अथवा निजीकरण गर्न सकिन्छ कि भने तोशिबाले एउटा समिति पनि गठन गरेको थियो ।

सन् २०२० मा तोशिबाले लेखासम्बन्धी थप अनियमितता समेत गरेको पाइयो । त्यसमा कर्पोरेट सुशासन र शेयर होल्डरहरूले लिने निर्णय लिने तौर तरिका सम्बन्धी आरोपहरु पनि थिए ।

सन् २०२१ को एउटा अनुसन्धानबाट तोशिबाले जापानको वाणिज्य मन्त्रालयसँग साँठगाँठ गरेको विषय पनि खुल्न आयो, जसबाट तोशिबालाई रणनीतिक सम्पत्तिको रुपमा हेरेर विदेशी लगानीकर्ताको हितलाई दबाउन खोजिए देखेको थियो ।

त्यसैबीच सन् २०२२ मा तोशिबासमक्ष खरिद सम्बन्धी आठ ओटा प्रस्ताव आए । यसै वर्षको सुरुतिर राज्य संरक्षित जापान इन्भेस्टमेन्ट कर्प (जेआईसी) ले नेतृत्व गरेको जापानी लगानीकर्ताको एक समूहले कम्पनी १४ अर्ब डलरमा कम्पनी खरिद भएको जानकारी बाहिर ल्याएको थियो ।

नयाँ लगानीकर्ताले कम्पनीलाई कसरी अगाडि बढाउने योजना बनाएका छन् भन्ने कुरा त स्पष्ट छैन, तर कम्पनीबाट बहिर्गमन हुँदै गरेका अध्यक्षले उच्च नाफा दिने किसिमका डिजिटल सेवाहरूमा केन्द्रित हुने बताएका थिए ।

यस्तै सन् २०१४ मा सोनीको भायो ल्यापटप व्यवसाय खरिद गरेपछि जेआईसीले यो वर्ष उल्लेखनीय बिक्रीको रेकर्ड राख्न सफल भएको थियो ।

सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो ।

सत्तरी वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन् ।

“तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,” बिहीबार एक विज्ञप्ति निकालेर सिमादाले भनेका छन् ।

तोशिबा निकै ठूलो कम्पनी हो र यसमा लगानी समेत निकै धेरै भइसकेको छ ।

तोशिबामा अहिले पनि एक लाख छ हजार कर्मचारी रहेका छन् र यसका केही कार्य राष्ट्रिय सुरक्षाका हिसाबले समेत संवेदनशील मानिन्छन् ।

Categorized in विज्ञान-प्रविधी