arin enterprises

९४ औँ ओस्कर अवार्ड सम्पन्न

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १४, सोमबार

 चलचित्र क्षेत्रका विभिन्न विधामा पुरस्कार हस्तान्तण गर्दै ९४ औँ एकेडेमी (ओस्कर) अवार्ड सम्पन्न भएको छ । सोमबार बिहान डल्बी थिएटरमा अवार्ड सम्पन्न भएको हो ।

यस वर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ ।

उत्कृष्ट निर्देशकको अवार्ड भने ‘द पावर अफ डग’ का निर्देशक जेनी क्याम्पियनले कब्जा गरे ।

फिल्म निर्देशकको रुपमा ओस्कार पाउने क्याम्पियन तेस्रो महिला हुन् । महिला निर्देशकमा यसअघि सन् २०१० मा क्याथरिन विगेलो र सन् २०२१ मा क्लोइ झाओले अवार्ड जितेकी थिइन् ।

‘किङ रिचार्ड’ का अभिनेता विल स्मिथ उत्कृष्ट अभिनेता बन्न सफल भएका छन् । यो उनको तेस्रो ओस्कार मनोनयन हो भने पहिलो अवार्ड हो । यसअघि उनी ‘अली’ र ‘द पर्सुइट अफ ह्यापिनेस’ चलचित्रका लागि ओस्कारको मनोनयनमा परेका थिए ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘द आइज अफ टेमी फेय’को लागि जेसिका चैस्टेनले पाइन् ।

ट्रोइ कोत्सरले सह–अभिनेता र एरियाना डिबोसले सह–अभिनेत्रीको अवार्ड जिते ।

ट्रोइ कोत्सरले कोडाको लागि र एरियाना डिबोसले द वेस्ट साइड स्टोरीको लागि ओस्कर अवार्ड प्राप्त गरे ।

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जापानको ‘ड्राइभ माइ कार’ ले पायो । मेकअप एन्ड हेयरस्टाइलिङको अवार्ड ‘द आइज अफ टेमी फेय’ ले प्राप्त गर्दा कस्ट्युम डिजाइनमा क्रुएलाको लागि जेन्नी विभान पुरस्कृत भइन् ।

एडप्टेड स्क्रिनप्ले विधामा ‘कोडा’को लागि सायन हेडेर, ओरिजिनल स्क्रिनप्ले ‘बेलफास्ट’ को लागि केनेथ ब्रानग ओस्कार विजेता बने ।

एनिमेसनतर्फ एनकान्टोले अवार्ड पाउँदा डकुमेन्ट्री फिचरमा समर अफ सउलले ओस्कार पाए ।

सबैभन्दा धेरै विधामा अवार्ड पाउने फिल्म ‘ड्युन’ बनेको छ । यस चलचित्रले उत्कृष्ट छायाङ्कन, सम्पादन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, ध्वनी तथा ब्याकग्राउन्ड स्कोर गरि ६ वटा विधामा ओस्कार अवार्ड आफ्नो पोल्टामा पारे ।

बेष्ट ओरिजिनल सङको अवार्ड ‘नो टाइम टु डाइ’ को लागि बिल्ली एलिस र फिनेस ओ कनेलले पाए ।

त्यस्तै सर्ट फिल्ममा एनिमेटेडतर्फ ‘द विन्डसिल्ड वाइपर’ र लाइभ एक्सन सर्टमा ‘द लङ गुडबाइ’ पुरस्कृत भए ।

Categorized in पेजथ्री