टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
SamacharDesk | २०८१ बैशाख १७, सोमबार
सशस्त्र प्रहरी बल, पशुपतिनाथ बाहिनी मुख्यालयले आइतबार मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुको मध्यनजर राखी काठमाडौँको कीर्तिपुर स्थित टौदहमा विपद् प्रतिकार्य अभ्यास गरेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको अभ्यासमा गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधीहरु तथा स्थानीय जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
विपद् प्रतिकार्य अभ्यासले सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिबृद्धी र सामाग्रीहरुको अध्यावधिक गर्नुका साथै सरोकारवाला निकायहरुबीच समन्वय कायम गरी एक आपसमा सीप आदान–प्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षती न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्ते बताइएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुवीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चुस्त, दुरुस्तकासाथ थप प्रभावकारी बनाउनको लागि समय–समयमा यस्ता अभ्यासहरुको आयोजना गर्दै आईरहेको बताउनुभयो ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी पिडितहरुको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराईमा डुबेका पिडितहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए ।
Categorized in समाज