arin enterprises

फोहोर विर्सजन गर्न स्थानीयसँग सहमति

SamacharDesk | २०७९ जेठ २७, शुक्रबार

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बञ्चरेडाँडामा फ्याँक्न महानगरपालिका र ल्याण्डफिल्ड साइटका स्थानीयसंग १८ बुँदे सहमति भएको छ ।

गएराती १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरुबीच सहमति जुटेको हो । सहमति अनुसार सिसडोलमा फोहोर  विसर्जन गर्न थानीय वासिन्दाले अवरोध नगर्ने सहमति भएको छ ।

तर फोहोर बोकेका गाडीहरु रातीको समयमा मात्रै ल्याण्डफिल्डसाइटमा जान पाउने छन् । त्यसको लागि महानगरपालिकाले रातिमा फोहोर ब्यवस्थापनका लागि आवश्यक पूर्वाधार बत्ती जडान र बाटोको निर्माण महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ ।

यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने पनि सहमति भएको छ । त्यसैगरी फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने र फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने भनिएको छ ।

फोहोरबाट प्रभावित क्षेत्रको अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको सुझाव अनुसारका कार्यहरु कार्यान्वयन गर्ने सहमति पनि भएको छ । प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने सहमति पनि भएको छ ।

फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने छ भने फोहोरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकाले पूरा गर्ने छ ।

यसअघि शहरी विकास मन्त्रालयको रोहबरमा भएको सहमतिलाई स्थानीय वासिन्दाले नमानेपछि फोहोर ब्यवस्थापन रोकिएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मेयर बालेन्द्र शाहसंग भेटेर सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका वडा नम्बर १ अध्यक्ष बहादुर तामाङ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

Categorized in राष्ट्रिय