arin enterprises

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै

SamacharDesk | २०७९ माघ १७, मंगलबार

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायम रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ ।

ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टमा २०२२ मा नेपालले १०० मा ३४ अंकमात्रै प्राप्त गरेर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पमिद्मनी प्रधानाङ्गले सीपीआई २०२१ को रिपोर्ट अनुसार नेपालले ३३ अंक पाएर ११७ औं स्थानमा रहेकोमा यो पटक १ अंकले केही सुधार देखिएको भएपनि भ्रष्टाचार न्युनिकरण भएको भन्न नसकिने बताउनु भयो ।

उहाँँले गत वर्षको तुलनामा १ अंक सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको बताउनु भयो । उहाँले यो वर्ष भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) १८० मुलुकमा गरेको बताउनु भयो ।

उहाँले रिपोर्टमा सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको बताउनु भयो ।

उहाँले यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचिकृत भएको बताउनु भयो ।

उहाँले यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले  सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२५ औं), मालदिभ्सले ४० अङ्क (८५ औं), भारतले ४० अङ्क (८५ औं), श्रीलङ्काले ३६ अङ्क (१०१ औं), नेपालले ३४ अङ्क (११० औं), पाकिस्तानले २७ अङ्क (१४० औं), बङ्गलादेशले २५ अङ्क (१४७ औं) र अफगानिस्तानले २४ अङ्क (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औं) प्राप्त गरेको बताउनु भयो ।

उक्त रिपोर्ट सन् २०२२ मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोवल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई रिपोर्टको आधारमा तयार पारेको जनाएको छ ।

Categorized in राष्ट्रिय