क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
SamacharDesk | २०८० पौष १३, शुक्रबार

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुने छ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताउनुभयो ।
इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको छ ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए ।
यो मुद्दामा आइतबारदेखि निरन्तर बहस भएको थियो । लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
Categorized in राष्ट्रिय