धरहरा निर्माण गर्न सातौं पटक म्याद थप
SamacharDesk | २०८१ आषाढ २७, बुधबार

२०७२ सालको महाभूकम्पबाट पुरानो धरहरा ढलेपछि बनेको नयाँ धरहरा निर्माण अझै सम्पन्न नभएपछि सातौं पटक म्याद थप गरिएको छ ।
२०७२ सालमा भूकम्बाट धराहरु भत्किएपछि बनाइएको नयाँ धरहरा २०७५ पुसदेखि निर्माण थालनी गरेको थियो । तर २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने कार्य सम्पन्न नहुँदा २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो ।
सातौं पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिंदा धरहराको निर्माण कार्य भने ९६ प्रतिशत सम्पन्न भएको कम्पनीको दावी छ ।
२०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस अवधिमा धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो ।
पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
आयोजना प्रमुख अधिकारीका अनुसार म्याद थप गरिएको यस अवधिमा निर्माण सम्पन्न हुन सकेन भने निर्माण कम्पनीले सरकारलाई जरिबाना तिर्नुपर्ने हुन्छ ।
कुल सम्झौता रकमको ०।०१ प्रतिशत प्रतिदिनका दरले जरिबाना बुझाउनुपर्ने हुन्छ । सम्झौता रकम तीन अर्ब ४९ करोड रुपियाँ रहेको छ ।
२०७८ वैशाख ११ गते निर्माण कार्य पुरा नहुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास र उद्घाटन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय