arin enterprises

बालबालिकामा हुने हिंसाको उजागर गर्दै ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन

SamacharDesk | २०८० पौष १३, शुक्रबार

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ ।

साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरूद्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।

महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ ।

मिथकीय पात्र गोमालाई प्रतिनिधिपात्रका रूपमा उतारेर समाजमा अनगिन्ति महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ ।

कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ । अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ । नाटकभित्र मिथकर समकालीन समयको संयोजन छ ।

श्री स्वस्थानी व्रतकथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार (रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् ।

‘गोमाकहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गर्दैै आमदर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ । नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ ।

नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ ।

पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ ।

नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइ.एस पौडेल, बिलबहादुर वि.क, सुरज अधिकारी, सरस्वती दाहाल, आरुषजंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।

Categorized in पेजथ्री