राष्ट्रपति निर्वाचनको मतदाता नामावली उपर आज दाबी विरोध गर्न सकिने
SamacharDesk | २०७९ फाल्गुण ११, बिहिबार

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिनु परेमा आज कार्यालय समयभित्र गर्न आह्वान गरेको छ ।
भोलि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार १३ गते शनिवार उम्मेदवारी दर्ता हुनेछ ।
राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । मतदानको लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुईवटा मतदान केन्द्र रहनेछन् ।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले हिजो ८८१ जनाको नामावली प्रकाशन गरेको हो । सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ ।
प्रहरीको फरार सूचीमा रहेका महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा समावेश गरिएको छ । तर राष्ट्रपतिबाट सजायँ मिनाह पाएपछि निलम्बन फुकुवा भईसकेका नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको नाम भने मतदाता सूचीमा राखिएको छैन ।
यसैगरी निलम्बनमा रहेका मनाङका सांसद टेक बहादुर गुरुङको नाम मतदाता सूचीमा छैन भने रवि लामिछानेको सांसद पद गुमेसँगै चितवन २ रिक्त छ ।
Categorized in राष्ट्रिय