arin enterprises

३२५ जना आरोही पुगे सगरमाथाको चुचुरोमा

SamacharDesk – समाचारडेस्क | २०८० जेठ ५, शुक्रबार

गत निबारदेखि शुरु भएको सगरमाथा आरोहणमा हालसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ ।

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न एजेन्सीमार्फत ६५ देशका ५७८ आरोहीले अनुमति लिएका थिए ।

विभागका अनुसार विहीबार अबेरसम्म ३२५ जना भन्दा बढीले आरोहण पूरा गरेको अनुमान गरेको छ । यो वर्ष गत वर्षको तुलनामा एक साता ढिलो गरी सगरमाथा आरोहण खुल्ला गरिएको थियो ।

जसको एक सातामै उल्लेख्य आरोहीहरु चुचुरोमा पुग्न सफल भएका छन् । विभागका अनुसार हालसम्म मौसम सफा र प्रतिकूल भएसँगै बाँकी आरोहीहरु पनि चुचुरामा पुग्ने जनाएको छ । 

विहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीलाई विभिन्न शिविरबाट उद्धार गरी आधार शिविरमा ल्याइएको पनि जनाएको छ । 

बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए ।

विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।

विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् ।

सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।

 

Categorized in समाज