arin enterprises

धादिङका किसानहरुले मल लुटे

SamacharDesk | २०७९ आषाढ ४, शनिबार

असारको रोपाई सकिन लाग्दा पनि मलको अभाव खेपिरहेका किसानहरुले आज मल बोकेको ट्रकमा लुटपाट गरेका छन् । 

शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ । 

मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले जबर्जस्ती मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सशस्त्र प्रहरीे बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रक रोकेर मल खोसेका हुन् । नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ ।

तर, त्यो मल व्यापारीले ल्याएका थिए । सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो ।

सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजे पनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् ।

उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।

Categorized in राष्ट्रिय