सार्वजनिक सवारी साधनको भाडामा वृद्धि, वैशाख १ देखि लागू हुने
SamacharDesk | २०७८ चैत्र २६, शनिबार

पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा दरमा पनि वृद्धि गरिएको छ ।
चैत २४ गतेको मन्त्रिस्तरीय बैठकले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । उक्त बढेको भाडा वैशाख १ गतेदेखि लागू हुने बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
भाडा समायोजनसँगै अब यात्रुले चढ्ने बित्तिक्कै र पाँच किलोमिटरसम्मको भाडा २० रुपियाँ तिर्नुपर्ने छ । मन्त्रालयका अनुसार ०–१० किलोमिटरमा २५ रुपियाँ, ०–१५ किलोमिटरमा ३० रुपियाँ, ०–२० किलोमिटरमा ३३ रुपियाँ र २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्दा ३८ रुपियाँ तिर्नुपर्नेछ ।
यसैगरी, ट्याक्सी प्रति २०० मिटरको भाडा १० रुपियाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपियाँ तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइनेछ ।
Categorized in राष्ट्रिय