भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड खर्च गर्न पाउँदैनः प्रधानमन्त्री
SamacharDesk | २०८० पौष २०, शुक्रबार

भारतीय दूतावासले नेपालमा २० करोडसम्म लगानी गर्न सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण दिनुभएको छ ।
नेपाल–भारतबीच पराष्ट्रमन्त्रीस्तरीय बैठक भारतीय दूतावासले २० करोडसम्म लगानी गर्ने सम्झौताको चौतर्फी विरोध भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले सिधै खर्च गर्न नपाउने बताउनु भएको हो ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीवार काठमाडौंस्थित भारतीय दुतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दुतावासले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताउनु भयो ।
उहाँले भारतीय दुतावासले जहाँ मन लाग्छ त्यहीँ लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताउनु भयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दुतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देशको हीत विपरित भएको बताउनुभएको थियो ।
यसैगरी पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि सम्झौताको विरोध गर्दै नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि खेलवाड भएको बताउनुभयो ।
दुई दिने भ्रमणमा नेपाल आउनु भएको भारतीय विदेशमन्त्री एस जयशंकर आज विहान पशुपतिनाथको दर्शन गरी आजै स्वदेश फर्कनु भएको छ ।
Categorized in राष्ट्रिय