इन्द्रध्वजा विर्सजनसँगै यो वर्षको येँया विधिवत रुपमा सम्पन्न
SamacharDesk – राम डंगोल | २०८१ आश्विन ६, आइतबार
यो वर्षको येँया अर्थात् इन्द्रजात्रा आठ दिनसम्म मनाएर विधिवत रुपमा सम्पन्न भएको छ ।
काठमाडौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा हिजो १० बजेर ३१ बजेको साइतमा इन्द्रध्वजा ढालेपछि यो वर्षको इन्द्रजात्रा विधिवत रुपमा सम्पन्न भएको छ ।
इन्द्रध्वजा ढालेपछि बागमती नदीमा सेलाइने परम्परा छ । हिजो येँयाको अन्तिम दिन नानीचायाः अन्तर्गत जिवित देवी केमारी, गणेश, भैरवलाई महिलाहरुले रथ तानेर जात्रा सम्पन्न गरेको छ ।
येँया अन्तर्गत क्वनेयाः, थनेयाः र नानीचाया गरी तीन दिने रथ जात्रा गर्ने प्रचलन रहेको छ । रथजात्राको पहिला दिन क्वनेयाःको दिन जिवित देवी कुमारी, गणेश, भैरवको रथलाई मरुटोल अर्थात् वसन्तपुरबाट रथ तानेर काठमाडौँको चिकंमुगल, न्हूघः, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेनस्थान हुँदै वसन्तपुरमै ल्याएर आजको जात्रा टुङ्ग्याइन्छ ।
त्यस्तै रथजात्राको दोस्रो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ। त्यस दिन नेवार समुदायका मानिसहरूले सममय्बजी खान्छन् ।
यंलागा चौथी (आश्विन कृष्ण चौथी)का दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ।
जात्रा सँगसँगै मजिपा लाखे, किलागलको दीप्याखँ, किलागलकै पुलुकिसी नाच, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाश भैरव गण नाचहरु रथयात्राको सँगसँगै जात्रा गरिन्छ भने विभिन्न ठाउँमा नाच पनि देखाइन्छ ।
जात्राको अन्य आकर्षणको रुपमा कुमारी घरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ। त्यस्तै परम्परागत दिप्याखँ ठाउँठाउँमा नचाइन्छ ।
त्यस्तै ह्यूमतस्थित ह्यूमतः (घुम्ने दियो) बालेर देवी कुमारी, गणेश, भैरवलाई आरती गर्ने प्रचलन रहिआएको छ । साथै ठाउँठाउँमा सय्मबजी चढाउने र प्रसादको रुपमा ग्रहण गर्ने परम्परा पनि रहिआएको छ ।
क्वनेयाः समापनपश्चात मरुको छ्वासुपाखाःबाट इन्द्रको आमाको रुपमा पुजिदै आएको डाँगी निकाल्ने गरिन्छ । डाँगी सँगैसँगै वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।
यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ।
त्यस्तै जात्राको आकर्षणको रुपमा इन्द्रचोकस्थित आकाश भैरवलाई सर्वसाधारणको दर्शनका लागि मन्दिरबाहिर राख्ने प्रचलन रहेको छ भने हनुमाढोकास्थित श्वेत भैरव पनि प्रदर्शनमा राखिन्छ ।
उक्त भैरवको मुखबाट जात्राको आठै दिन प्रसादको रुपमा भैरवको मुखमा नली जडान गरी जाँडरक्सी खुवाईने प्रचलन रहेको छ ।
जुन प्रसाद ग्रहणका लागि युवायुवतीहरु तछाडमछाड हुने गर्दछ ।
Categorized in संस्कृति