काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा
SamacharDesk | २०८० पौष १२, बिहिबार

काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि महानगरले बुधबार काठमाडौं महानगरपालिका र बीमा बोर्डबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
स्वास्थ्य वीमा ऐन २०७४, स्वास्थ्य वीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य वीमा संयोजन समिति गठन र संचालन कार्यविधि, २०७८ ले अवलम्बन गरेका मापदण्डका आधारमा सेवा संचालन गर्ने सहमतिपत्रमा जनाइएको छ ।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ‘वीमा गरेपश्चात पाँचजनाको परिवारले एक इकाइ मानेर वर्षको १ लाख बराबरको निःशुल्क औषधी उपचार गर्न पाउने छ ।
उक्त रकम बराबरको बीमा बोर्डले महानगरपालिका अन्त्र्गत रहेको प्रवद्र्धन केन्द्रलाई सोधभर्ना गर्नेछ।’ अबदेखि महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरु बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतका उपचारमा संलग्न हुनेछन् ।
महानगर स्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार उक्त स्वास्थ्य केन्द्रमा औषधी उपचार नहुने जटिल प्रकारको उपचारका लागि सूचीकृत अस्पतालमा रिफर गर्ने पनि जनाएको छ ।
यसैबीच महानगरले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरणको खरिद प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।
महानगरका अनुसार सबै वडाका लागि विमा दर्ता गराउने जनशक्तिहरुको पनि छनौट कार्य भइसकेको र उनीहरुलाई तालिम पनि दिइसकेको जनाएको छ ।
अब उनीहरुलाई घरघरमा गएर स्वास्थ्य विमा गराउन जानेछ । महानगरले सुरुमा ९, ८ र ३० मा सो कार्यक्रम संचालन गर्ने र पछि विस्तारै सबै वडा वडामा सो कार्यक्रम अगाडि बढाइने छ ।
Categorized in स्थानीय