arin enterprises

काठमाडौं १० क्षेत्रमध्ये कांग्रेस–५, रास्वपा–४ र एमालेलाई १ क्षेत्रमा जित

SamacharDesk – Ram Dangol | २०७९ मङ्सिर ७, बुधबार

आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ ।

हालसम्मको नतिजा अनुसार प्रतिनिधिसभातर्फ २३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले तीन सिटमा जित निकालेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी एक एक स्थानमा विजयी भएका छन् ।

काठमाडौंको १० क्षेत्रको मत परिणाम लगभग आइसकेको अवस्था छ ।

जसमा काठमाडौंको १ नं. क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश मान सिंहले बाजी मारेको छ । उहाँले ७ हजार १४३ मत ल्याउँदै सिंह विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । यसै क्षेत्रका अर्का चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ मत पाएका छन् । त्यस्तै एमालेबाट किरण पौडेलले ३ हजार ५३२ र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाए ।

काठमाडौं क्षेत्र नं. २ मा यसपाली नयाँ युवा नेतृको उदय भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले विजयी हासिल गरेको छ । गौतमले १५ हजार १२९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्दी मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गर्नुभयो भने राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गर्नुभयो ।

काठमाडौं क्षेत्रमा ३ मा भने नेपाली कांग्रेसका सन्तोष चालिसेले जितेका छन् । उहाँले १५ हजार १५८ मत ल्याउनु भएको थियो । उनका प्रतिस्पर्धी एमालेका कृष्ण कुमारले ११ हजार १९६ मत पाए । तेस्रो भएका माओवादी केन्द्रका बद्रि प्रसाद बजगाईंले ५१८ मत पाएका थिए ।

त्यस्तै काठमाडौं क्षेत्र नं. ४ मा भने कांग्रेस नेता गगन थापा नै पुनः दोहोरिएका छन् । उनले क्षेत्र नं. ४ बाटै तीन पटक जित हासिल गरेका छन् । उनले २१ हजार ३०२ मत लएर विजयी हुँदा थापाका प्रतिस्पर्धी राजनभट्टराईले १३ हजार ८५५ मत पाए । तेस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका डा।ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाए ।

काठमाडौं ५ मा यसपाली एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल पराजित भएका छन् । कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी भए । एमालेका पोखरेल जम्मा १० हजार १७५ मतमा समेटिए । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणाले ३ हजार १५५ मत पाएका छन् ।

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी ९४ हजार २९१ मत० मतभन्दा बढी हो । पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुनुभएको छ । पराजुलीले ८ हजार ७४३ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत प्राप्त गर्नुभयो भने माओवादी उम्मेदवार मानुषि यमी भट्टराइले ६ हजार ६३ मत प्राप्त गर्नुभयो ।

यस्तै काठमाडौंको क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत प्राप्त गर्नुभयो ।  पर्यटनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए । उनले जम्मा ४ हजार २६६ मत पाएका छन् ।

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेका थिए ।

यस्तै काठमाडौंकाको क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसी १४ हजार ४४८ मतसहित निर्वाचित हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २७७ मत प्राप्त गर्नुभयो ।

Categorized in राष्ट्रिय