पाटनको डबलीमा कात्तिक नाच प्रारम्भ
SamacharDesk – राम डंगोल | २०८१ कार्तिक २२, बिहिबार

ऐतिहासिक कात्तिक नाच प्रारम्भ भएको छ ।
तीन सय ८३ वर्षदेखि चलिआएको कार्तिक नाच पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा बुधबार भक्त सुरदास नाचबाट शुभारम्भ भएको छ ।
भगवान विष्णुका १७ कथासँग जोडिएको यो नाच आगमी ३० गतेसम्म सञ्चालन हुनेछ । हरेक दिन फरक–फरक कथामा आधारित लिला अनुसारका नाच प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
कात्तिक नाचको दोस्रो दिन आज ‘बाथः प्याखँ’ च्वलय् खुदां दां खुदां नाच देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । कात्तिक नाचको विशेष आकर्षण भनेको नरसिंह अवतार नाच (हिरण्य कश्यप वध)लाई लिने गरिन्छ ।
यो वर्ष नरसिंह अवतार नाच आगामी २९ गते देखाइने भएको छ । नरसिंह अवतार हिरण्यकस्यप बधपश्चात अर्काे दिनहरु वस्त्रहरण लिला, दधि लिला नाच देखाई कात्तिक नाच सम्पन्न हुने गर्दछ ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको नाच, देश र जनताको कल्याणार्थ नचाउने गरिएकोे जनविश्वास रहेको बताइएको छ ।
यो नाच मल्लकालीन राजा सिद्धनरसिंह मल्लले ३८४ वर्षअघि वि.स. १६९७ सुरु गर्नुभएको मानिन्छ ।
यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।
शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गर्नुभएको थियो । तर पछि सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गरेको बताइन्छ ।
त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्ने गरी थालनी गरिएको बताइन्छ ।
एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विभिन्न कारणले गर्दा नाच विभिन्न समयमा घटबढ भएपनि बन्द भएको इतिहास भने नभएको समितिको ठहर छ ।
Categorized in संस्कृति