arin enterprises

एसईईमा एनजी आएका सबैले मौका परीक्षा दिन पाउने

SamacharDesk | २०८१ आषाढ १६, शनिबार

माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसईईको नतिजा अनुसार ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । जसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए ।

तर हिजोको मन्त्रिस्तरीय निर्णय अनुरुप ननग्रेडिङ भएका सबै विद्यार्थीहरुले मौका परीक्षामा गराउने व्यवस्था गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएको छ । केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था रहेकोमा यो व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ ।

परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ । मन्त्रायलको यो निर्णयपछि परीक्षाको समय तालिकामासमेत संशोधन गर्ने तयारी छ ।

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी र आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाईसमेत निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको एसईईमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ । 

Categorized in राष्ट्रिय