arin enterprises

सबैले मनाऔं सिथि नखः

SamacharDesk – राम डंगोल | २०८० जेठ ११, बिहिबार

सिथि नखः एक सामाजिक, सांस्कृतिक, धार्मिक, उर्जावान तथा वातावरणीय दृष्टिकोणबाट धेरै महत्व बोकेको पर्व हो ।

हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने पर्व यो वर्ष पनि उपत्यका लगायत देशभरका नेवार समुदायहरु धुमधामका साथ मनाईंदैछ । धार्मिक हिसाबले विशेषगरी यो पर्व कुमार कात्र्तिकेको पूजाआजा गरी मनाइने प्रचलन रहेको छ ।

जसलाई कुमार षष्ठी पनि भन्ने गरेको पाइन्छ । यस पर्वको सम्वन्ध मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । साथमा यस पर्वका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक मान्यताहरु पनि छन् । ती मान्यताहरुबारे हामी चर्चापरिचर्चा गरौं ।

धार्मिक पक्ष/कुमार कात्र्तिकेको जन्म

यस दिन महादेव र गंगाका जेष्ठ पुत्र कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ । कुमार कार्तिकेयलाई नेवार समुदायले सिथिद्यः भनी पुज्ने गर्दछन् ।

कुमार कार्तिकेयको जन्म आजकै दिनमा भएको विश्वासका साथ यो दिन उनको धूमधामका साथ पूजाआजा गरिन्छ ।

देवताहरुको गणनायक गणेश हुन् भने सेनापति कुमार हुन् । सेना, सेनापति, लडाईँ, एक आपसमा जोडिएका यी शब्द वा पक्षहरुसँग शक्तिको प्रसङ्ग नजोडिने त कुरै भएन ।

त्यसैले कुमार कार्तिकेको पूजाआजा गर्नाले असारे झरीमा खेत खन्ने, रोपाईं गर्ने जस्ता कामको लागि भरपुर बल र शक्ति मिल्ने विश्वास गरिन्छ । त्यस्तै कुमारको पूजा गर्दा शत्रुको नाश हुने घर, परिवारको रक्षा हुने र सुखसमृद्धि प्राप्त हुने र घरमा दुष्टात्माहरुले प्रवेश नपाउने धार्मिक विश्वास रहेको छ ।

कुमार कार्तिकेय एक तेजस्वी तेज तत्वबाट जन्म लिएर आएको मानिन्छ । कुमारको जन्म शिव पार्वतीद्वारा तेज शक्ति प्रवाह गरी तेजस्वी बीर्यबाट भएको हो ।

सो तेजस्वी वीर्य अग्निदेवलाई भिक्षाको रुपमा शिव पार्वतीले दिएर पठाएको थियो । सो तेजस्वी बीर्यको ताप सहन नसकि अग्निदेवले सो बीर्यलाई नदी किनारमा छोडिदिए । त्यो बीर्य ज्यादै तेजस्वी भएको कारण वरिपरिको झारपातहरु नै बल्न शुरु गरे ।

यसरी नदीको किनारमा आगो बलेको देखेर सप्त ऋषि पत्नीहरु मध्येको ६ जना नुहाएर जाडो मानेको बेलामा आगो ताप्न पुगे । सो आगो ताप्नाले ६ जना ऋषि पत्नीहरुमा गर्भधारण भयो ।

यसरी ऋषि पत्नीहरुले गर्भधारण गरेको थाहा पाएर ऋषिहरुले पत्नीहरुलाई छाडिदिए । ऋषि पत्नीहरुले सो गर्भधारण गरेको बालकलाई नदीको जलमा छोडिदिए । यसरी नदीमा छोडेको ६ जना तेजस्वी बालकहरुको ६ वटा टाउको जोडेर एक कुमार कार्तिकेय बन्न पुगे । यसरी कुमार कार्तिकेय को जन्म भयो जुन तेजस्वी थियो ।

जात्रा र पर्व

यस दिन काठमाडौंको न्हूघःस्थित कुमार कार्तिकेयको मन्दिरमा पूजा र दर्शन गर्नेको ठुलै भीड लाग्ने गर्दछ ।

सिथिनखः भन्दा चार दिन अघि कुमार कार्तिकेयलाई परम्परागत बाजागाजासहित द्यःछेँ (देवताको घर)बाट कुमार मण्डपसम्म बोकेर ल्याइन्छ र मयुर वहानमा विराजमान कुमारलाई मण्डपमा राखी पूजाआजा गरीन्छ ।

 पूजाको क्रममा शुरुमा दूध र त्यसपछि जलबाट महास्नान गरिन्छ । यसलाई स्थानीय भाषामा सिथिद्यःया न्हवं भनिन्छ । सिथि नखः पर्वको एक दिन अघि देवतालाई पाटीमा राखी कर्म पूजा, होम गरी शुद्धिकरण गरिन्छ ।

भोलिपल्ट अर्थात सिथिनखःका दिनमा दर्शन तथा पूजाआजाका लागि सर्वसाधारणको लागि मन्दिर खुल्ला गरिन्छ । विगतमा यस दिन कुमार कार्तिकेयलाई खटमा राखी धूमधामका साथ बाजागाजासहित नगर परिक्रमा गराइन्थ्यो तर, अचेल यो चलन हराउँदै गएको देखिन्छ ।

अहिले भने कुमारलाई खटमा राखि दिनभर मण्डपसँगै राखी सर्वसाधारणको दर्शनका लागि राख्ने मात्र गरिन्छ, नगर परिक्रमा गराइन्न ।

परम्परा तथा रीतिरिवाज

सिथिनखःलाई देपूजा, देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा लिइन्छ ।

विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाउने गरेतापनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने तिथि थाहा नभएर अन्योलमा रहेकाहरुले सिथि नखःको दिन आफ्नो कुल पूजा मनाउने गर्छन् ।

यस दिन मास, मुगी, मुसुरो, केराउ, चनाको समेत गरी ६ प्रकारको वः बनाएर खाने गरिन्छ भने चतांमरिसमेत खाने गरिन्छ । यस दिन पीठोको सुख्खा रोटी बनाएर खान नहुने मान्यता पनि रहेको पाइन्छ ।

सिथिनखःलाई फू नखः, सित्तिकं वःगु नखः, म्ह्याय्मचा नखः आदि विभिन्न नामले पनि चिनिन्छ भने वर्षभरि मनाइने पर्वहरुमध्ये यसलाई अन्तिम पर्वको रुपमा लिइन्छ । यस दिन बिहे गरेर गइसकेकी छोरी, चेलीबेटीलाई घरमा पाहुना निम्तो दिएर बोलाउने गरिन्छ ।

सिथिनखः पछि वर्षायाम सुरु हुने र यससँगै धान रोपाईँमा व्यस्त हुने भएकोले यसलाई अन्तिम पर्व र रोपाइँ पछि सुरु हुने गथांमुगः पर्वलाई पहिलो पर्वको रुपमा लिने गरिन्छ ।

उर्जावान

नेवारहरुको प्राय सबैको खेतीकिसानी पेसा नै हुने गर्दछ । जेठ, असार महिना भनेको “मानो रोपी मुरी” फलाउने समय हो ।

रोपार्ईँलाई स्थानीय नेपालभाषामा ‘सिनाज्या’ भन्ने गरिन्छ । सिनाज्या अर्थात मरेरै गर्नुपर्ने काम । असार महिनामा किसानहरु दिनरात नभनी रोपाईमा खट्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा किसानहरुलाई विरामी भएँ भन्नसम्म त के, घरमा कोही मान्छे वितेमा काजक्रियाको लागि सम्म पनि समय पाइन्न । यसरी दिनरात खटेर श्रम गर्नुपर्दा शरीरलाई शक्ति वा बलको अत्यधिक आवश्यकता हुन्छ ।

यसरी काम गर्न शरीरलाई चुष्ट र फुर्तिलो बनाउनका लागि चाहिने पौष्टिक तत्व, उर्जा दिने खाना खानुपर्ने हुन्छ ।

रोपाईँ भन्दा अगाडी पर्न आउने चाड सिथिनखःमा यस्तै परिकारहरु जस्तै मास, मुगी, मुसुरो, केराउ, चनाको वः समेत गरी ६ प्रकारको वः तथा अन्य मासुका परिकारहरु खाने गरिन्छ । जसले खेतमा दिनरात नभनी काम गर्न उर्जा मिलोस् । 

वातावरणीय पर्व

सिथि नखः प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व हो । ग्रीष्म ऋतु र वर्षा ऋतुको मध्यमा मनाइने यो पर्वले पानीको स्रोत र पानीको महत्व बोकेको छ ।

यस दिन आफ्नो टोल वरिपरि रहेको इनार, कुवा, ढुंगेधारा, पोखरी, कुलो जस्ता विभिन्न पानीको स्रोतहरु रहेको ठाउँमा सबैजना मिलेर सरसफाइ गर्ने गरिन्छ ।

ईनार, कुवा अनि पोखरी वरिपरि पूजा पनि गर्ने गरिन्छ भने यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । वर्षाको समयमा यस्ता पानीका मुहानहरु सफा होस् र खाने पानी दुषित नहोस् भन्ने ध्येयले यस्ता मुहानहरु सफा गर्ने गरेको बुझ्न सकिन्छ ।

त्यस्तै वर्षातमा परेको ठूलो पानी बग्नलाई कुनै बाधा, अवरोध नहोस् र त्यसबाट कुनै प्रकारको क्षति नहोस् भनेर पहिल्यै सजग भई ढल, नालीहरु पनि सफा गर्ने गर्दछ ।

वैशाखको समयमा खासै वर्षा नहुने भएकोले पानीका यी स्रोत रहेको ठाउँमा पानी कम भएको हुन्छ र यो समयमा आउने हावा हुरीको कारण धुलो मिसिँदा पानी फोहोर हुने गर्छ । त्यसैले वर्षायाम सुरु हुनु ठीक अगाडि पानीका विभिन्न स्रोतहरु सफा गरेर तयारी गर्नु अति नै स्वागतयोग्य तथा दुरदर्शितापूर्ण संस्कृति हो ।

इनार सफा गर्नु जोखिमपूर्ण काम हो तर, हाम्रा अग्रजहरुले निकै दूरदर्शी विचार पुर्‍याएर सावधानी अपनाएको पाइन्छ । परम्परागत विधि अनुसार इनारमा पस्नु अघि नागको पूजा गरिनुपर्दछ र इनार भित्र पस्नु अगाडि विशेष तरिकाले बलिरहेको बत्ती तल पानी भएको ठाउँसम्म पठाउने गरिन्छ ।

यो बत्ती भित्र पठाउने क्रममा आगो निभेमा इनारभित्र जान नहुने मान्यता रहेको छ भने, यसो भएमा ३ दिन पछि पुनः यसरी नै बत्ती भित्र पठाएर जाँच गर्ने गरिन्छ । यो परम्परालाई गहिरिएर हेर्ने हो भने, इनार भित्र अक्सिजनको मात्रा जाँच गर्ने विधि हो ।

यसरी वर्षा सुरु हुनु भन्दा अगाडि पानीको स्रोतहरु तथा आफ्नो टोल छिमेक सफा गर्ने परम्पराले सरसफाईमा ध्यान दिनुपर्ने कुराको सन्देश दिन्छ । आजको समयमा काठमाडौंबासीहरूलाई सिथि नखःको महत्व अझै बढेर गएको छ ।

बढ्दो जनघनत्व र शहरीकरणले गर्दा यहाँका पानीका स्रोत तथा मुहानहरु सुक्दै गइरहेका छन् । यस्तो अवस्थामा काठमाडौंवासीहरुले ट्यांकर र जारको पानीमा भर पर्नुपर्ने अवस्था छ ।

हाम्रो पुर्खा र संस्कृतिले सिकाएको यस्ता दर्शनलाई बिर्सिँदा नै आजको यो अवस्था सिर्जना भएको हो भन्दा कसैको फरक विचार नहोला । हामीसँग परापूर्वकालदेखि रहेको यस्ता पानीका मुहान तथा स्रोतहरुलाई उचित मर्मत सम्भार र संरक्षण गर्दै काठमाडौंमा पानीको समस्या केही हदसम्म भएपनि कम गर्न सकिने देखिन्छ ।

सबैले मनाउँ सिथिनखः

परम्परागत रुपमा मनाईंदै आएको यो पर्वको धार्मिक मात्र होइन, वातावरण, मानव स्वास्थ्यको दृष्टिकोणले पनि ठुलो महत्त्व देखिन्छ ।

मानिसलाई स्वस्थ, फुर्तिलो बनाइराख्न शरीरलाई उर्जा प्रदान गर्ने, वातावरणमैत्री र धार्मिक रुपबाट पनि महत्वपूर्ण यो चाड नेवार समुदायले मात्रै होइन, हरेक नेपालीले मनाउन जरुरी देखिन्छ । 

सिथि नखःको यस पावन अवसरमा समस्त नेपालीहरुमा हार्दिक शुभकामना !

 

Categorized in बिचार
SKIP THIS maharjan complex bumper adv