arin enterprises

निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै

SamacharDesk | २०७९ बैशाख ११, आइतबार

आसन्न स्थानीय निर्वाचनका लागि आयोगले आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ । आयोगले सबै उम्मेदवारहरुलाई उम्मेदवारीका लागि स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नै मनोनयन दर्ता गर्न सकिने जनाएको छ । आयोगले उम्मेदवारीका लागि योग्यता पुगेका सबै मतदाताहरुलाई आफूलाई मन लागेको पदमा उम्मेदवारी दिन सक्ने वातावरण बनाइ दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार माध्यम र सरोकारवाला सवैलाई आग्रह गरेको छ ।

प्रमुख पदका लागि १५ सय रुपैयाँ दस्तुर लाग्ने छ भने वडाध्यक्षका लागि एक हजार तथा सदस्य पदका लागि ५ सय रुपैयाँ दस्तुर लाग्ने छ । अल्पसंख्यक, महिला र दलितका लागि भने मनोनयन दस्तुरमा आधा छुट दिइएको छ । बैशाख १३ गते उम्मेदवारी उपर दाबी विरोध गर्न सकिने छ भने १४ र १५ गते त्यस उपर छानविन गरिने छ ।

बैशाख १७ गते आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने छ । आयोगका प्रवक्ता पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा एकै दिन मनोनयन गर्दा अत्यधिक चाप देखिएकाले अहिले २ दिनको समय दिइएको बताउनु भएको छ ।

Categorized in राष्ट्रिय