arin enterprises

महासंघले प्रकाशन गरेको पुस्तकमा फोनिज तथा दबूको विरोध

SamacharDesk – राम डंगोल | २०८० माघ २८, आइतबार

नेपाल पत्रकार महासंघ, प्रदेश प्रतिष्ठानले आज विमोचन गरेको ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ नामक पुस्तकको आदिवासी जनजाति पत्रकार महासंघ फोनिज र नेवाः पत्रकार राष्ट्रिय दबूले विरोध गरेको छ ।

विरोधकाबीच सार्वजनिक भएको पुस्तकमा समावेश सामग्रीमा कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्षका रुपमा चिनाइएको भन्दै फोनिजले कार्यक्रमस्थलमै नाराबाजी र विरोध प्रदर्शन गरेको हो ।

फोनिजले महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको दाबी गर्दै आएको छ । फोनिजले महासङ्घका संस्थापक एवम् पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको हो।

वि.सं. २००८ वैशाख ९ गते नै सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार महासंघ स्थापना भइसकेको थियो । जबकी २०१२ सालमा मात्रै भट्टराई महासंघको अध्यक्ष भएको थियो ।

यसरी २००८ सालमा नै सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भइसकेको पुष्टि भइसके पनि भट्टराईलाई नै अध्यक्षको रुपमा चिनाउनु दुःखद् भएको भन्दै फोनिस र पत्रकार दबुले विरोध गरेको हो । पुस्तक विमोचन कार्यक्रममा गलत इतिहास बनाउने स्थिति देखिएको भन्दै पुस्तक थुतेर फोनिजका पत्रकारहरुले च्यातिदिएको थियो ।

यस विषयमा फोनिजका महासचिव मिलन लिम्बुले महासंघले कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्ष बनाएर गलत इतिहासलाई दस्तावेजिकरण गर्ने प्रयास भइरहेकाले विरोध गर्नु परेको बताए ।

उनले सत्यनारायणबहादुर श्रेष्ठ नै महासंघको संस्थापक अध्यक्ष रहेको दाबी गर्दै गलत दस्तावेजिकरण गर्न खोजेमा महासंघ विरूद्ध नै आन्दोलन गर्ने चेतावनी पनि दिए ।

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गर्नुभयो । तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ ।

हामीले यस विषयमा रिभ्यू गर्न ध्यानाकर्षण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भन्नुभयो, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।” 

यस विषयमा पत्रकारहरुसँग बोल्दै नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय महासचिव के.के मानन्धरले विमोचन गर्न खोजिएको पुस्तकमा गलत इतिहास भएकोले यसमा संशोधन गरेर वास्तविक इतिहासलाई पहिचान गर्दै जान आग्रह गर्दागर्दै पनि महासंघले पेलेरै जान खोजिएको बताए ।

उहाँले भन्नुभयो, “आजभन्दा ७÷८ वर्ष अगाडि तत्कालिन अध्यक्ष डा. महेन्द्र विष्ट भएको समयमा नै फोनिस र नेवाः राष्ट्रिय दबुले पटक पटक महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको ज्ञापनपत्र तथा ध्यानाकषर्णपत्र दिएका थियौं ।

२००८ सालमा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार महासंघ गठन भएको थियो । दोस्रो साधारणसभा पनि आर्य भवनमा भएको थियो । सो समयमा पनि उहाँलाई पुनः निर्विरोध अध्यक्ष चुनिनु भएको थियो ।

यो इतिहासलाई नामेट गरी बीचमा १२ सालमा आएको इतिहासलाई कायम गर्न खोजिएको छ ।”

उहाँले देशभरका पत्रकारहरुको सामूहिक संगठन नेपाल पत्रकार महासंघ भइसकेपछि महासंघले नै वास्तविक इतिहास बंग्याउन खोजिएको बताउनुभयो ।

Categorized in राष्ट्रिय