तीन विशिष्ट व्यक्तित्वहरु सम्मानित
SamacharDesk – Ram Dangol | २०८० जेठ ७, आइतबार

गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले नेपालभाषा साहित्य तथा कला क्षेत्रमा अतुलनीय योगदान पुर्याउने तीन विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
वरिष्ठ समाजसेवी दिलबहादुर मानन्धर र उहाँका छोराहरु गीतकार प्रा.डा. राजु मानन्धर, गायक सज्जु मानन्धर तथा प्रतिष्ठानाका संरक्षक राजेश मानन्धर लगायतले स्थापना गरेको प्रतिष्ठानले उक्त सम्मान प्रदान गरिएको हो ।
शनिबार राजधानीको एक पार्टी प्यालेसमा आयोजित साहित्यीक एवं सांगीतिक सम्मान कार्यक्रममा शिक्षाविद् हितकरवीर सिंह कंसाकार प्रमुख अतिथि रहनुभएको थियो ।
पहिलो संस्करण अनुरुप गणेशदेवी प्रतिष्ठानद्वारा जनगायक भृगुराम श्रेष्ठ, वरिष्ठ सिने पत्रकार तथा नेपालभाषा म्युजिक भिडियोका पहिलो निर्देशक बिजयरत्न असंबरे संगै प्रतिभावान नवदित गायक सिद्धार्थ वज्राचार्य लगायतलाई सम्मान-पत्र, ट्रफिसंगै नगद पुरस्कार प्रदान गरिएको हो ।
६ दशकदेखि गीत संगीत तथा कलाकारिता क्षेत्रमा अनवरत योगदान गर्दै आएका जनगायक भृगुराम श्रेष्ठलाई दीर्घसेवा सम्मानद्वारा सम्मानित गरिएको थियो ।
फाउण्डेशनका परामर्श समितिमा वरिष्ठ कलाकार, रचनाकार तथा निर्देशक पवन जोशी, वरिष्ठ कलाकार तथा गायिका नगिना जोशी, लोकप्रिय संगीतकार सुरेन्द्र श्रेष्ठ, लोकप्रिय गायिका निशा देशार, युवा संचारकर्मी, रचनाकार तथा साहित्यकार दर्शनवीर शाक्य रहेका छन् ।
कार्यक्रममा नेवा देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, बागमती प्रदेश सभासद सैलेन्द्र बज्राचार्य नेवा चलचित्र निर्देशक पवन जोशीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दबूका अध्यक्ष बज्राचार्यले अहिलेको अवस्थामा हामीले भाषा, संस्कृति, पहिचानलाई जोगाउन नयाँ पुस्ताहरुलाई संगीतको माध्यमबाट मनोरन्जनको माध्यमहरु विभिन्न कार्टून, चित्र तथा नयाँ पुस्ताले छिट्टै समाउन सक्ने माध्यहरुको प्रयोग गरी हाम्रो भाषा संस्कृति तथा पहिचानबारे जानकारी दिएर हाम्रो भाषाप्रति आकर्षित गर्नुपर्ने बताउनुभयो ।
उहाँले गणेशदवी फाउन्डेसनले अझ यस्तै सम्मान तथा सांगीतिक कार्यक्रमहरु विगतमा पनि निरन्तरता दिई नयाँ कलारकारहरु जन्माउने र उनीहरुको उत्थान गर्नेमा आफू विश्वस्त रहको बताउनुभयो ।
त्यस्तै बागमती प्रदेश सभासद सैलेन्द्र बज्राचार्यले हाम्रो भाषा, संस्कृति बचाउनका लागि बागमती प्रदेशबाट गर्न सक्ने कार्यको लागि योजना बढाई अगाडि बढ्ने जानकारी दिनुभयो ।
साहित्यीक एवं सांस्कृतिक सम्मान कार्यक्रममा कलाकारहरुले जनगायक भृगुराम श्रेष्ठलाई समर्पित गरी उहाँका पुराना गीतहरु कलाकारहरुले प्रस्तुत गरेका थिए भने विभिन्न चर्चित कलाकारहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
स्व. गणेशदेवी मानन्धर दिवंगत भएको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका संरक्षक राजेश मानन्धरले स्व. गणेशदेवीका जेष्ठ सुपुत्र राजु मानन्धरले अष्ट्रेलियामा रहे पनि प्रतिष्ठानका लागि निरन्तर सहयोग पुर्याउँदै आउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
