arin enterprises

भान्जाको २ करोड लुट्ने मामाको गिरोह पक्राउ

SamacharDesk | २०८१ आषाढ १३, बुधबार

प्रहरीको भेषमा दुई करोड रुपैयाँ बढी लुटेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन् । उनीहरु मध्ये कृष्णबहादुर बोहरा नेपाल प्रहरीका बहालवाला हवल्दार हुन् ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा सीआइबीको नक्कली परिचयपत्र र खुकुरी समेत देखाएर उनीहरुले राउतको घरबाट अन्दाजी २ करोड लुटेको र भीमबहादुर तामाङ बस्दै आएको जोरपाटी माकलबारीको कोठामा बसेर पाँच जनाले बाँडेको पाइएको जानकारी दिनुभयो ।

डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट र्गा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।

Categorized in अपराध