पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने
SamacharDesk | २०८० भाद्र २४, आइतबार

सरकारले आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ ।
सरकारले देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गर्न लागेको हो । यसका लागि दुई महिनाअघि चीनबाट २० हजार भाइल खोप ल्याइएको थियो ।
सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने योजना रहेको छ ।
स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने जनाएका छन् ।
एच.पि.भि. खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने जनाएको छ । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।
पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने छ । उक्त खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो ।
सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । सबैभन्दा पहिले भदौ २७ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट खोपको शुभारम्भ गर्नुहुने छ ।
खोप कोशी अस्पतालमा भदौ २७ गते, नारायणीमा भदौ २९ गते, प्रसूति गृहमा भदौ २७ गते, गण्डकीमा २७ गते, भेरी २७ गते, डडेलधुरा अस्पतालमा भदौ २७ गते र सुर्खेत अस्पतालमा भदौ २७ गतेदेखि लगाइने छ ।
पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने गर्दछ । संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखापर्दछ ।
एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने बताइन्छ ।
एचपिभीको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीको दुई वटा प्रजातिबाट भएको पाइन्छ ।
यसले पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्छ ।
Categorized in राष्ट्रिय