arin enterprises

बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १७, बुधबार

स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरी रोकिँदा उपाधी यात्रामा ठुलो धक्का लागेको छ । 

मंगलबार राती बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा एट्लेटिको म्याड्रिडसँग भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो ।

खेलमा बार्सिलोनाले अग्रता लिएको थियो । ११औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता पाएको थियो ।

१९औं मिनेटमा पाएको पेनाल्टीमार्फत एट्लेटिकोका साउल निग्युजले गोल गर्दै नतिजा बराबरीमा फर्कायो । 

त्यस्तै ५०औं मिनेटमा बार्सिलोनाले पनि पेनाल्टीको मौका पायो । मेसीले पेनाल्टीमार्फत आफ्नो करीअरको ७ सयौं र खेलमा टिमको लागि दोश्रो गोल गर्दै टिमलाई अगाडी बढाए । 

तर त्यो अग्रता १३ मिनेटसम्ममात्रै कायम रहन सक्यो । ६२ औं मिनेटमा एट्लेटिकोले पाएको अर्को पेनाल्टीमा साउल निग्युजले गोल गर्दै खेललाई बराबरीमै टुङ्ग्याइदिए । 

यो बराबरीसँगै बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का परेको छ भने रियल म्याड्रिडलाई फाइदा भएको छ ।

दोस्रो स्थानको बार्सिलोनाले ३३ खेलबाट ७० अंक बटुलेको छ । एक खेल कम खेलेको रियाल म्याड्रिड ७१ अंकसहित शिर्ष स्थानमा छ ।

एट्लेटिको ३३ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

Categorized in स्पाेर्ट्स