सिंगल ट्रिमा हराएकी आकाश देवी
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ मङ्सिर ११, बिहिबार

प्रसङ्ग, विषयवस्तु केही दिन अघिको हो । कोरोना महामारीका बीच नेपालीहरु आफ्नो दोश्रो महान चाड तिहारको तयारीमा थिए । म भने लेख्नको लागि कुनै नौलो विषयवस्तुको खोजीमा थिएँ ।
कुन विषयमा कलम चआऔं सोच्दै थिएँ, खोज्दै थिएँ । मलमासको कारण एक महिना पछि सरेको चाड र त्योसँग फुलको मौसम । तिहारका लागि फुल्ने फुल त ओइलाउन पनि शुरु भइसकेको थियो ।
यसै प्रसङ्गमा सयपत्री फुलका कृषक र व्यापारीहरुको अवस्थाबारे बुझ्न र लेख्न मन भयो । यसैसँग काठमाडौंमा सिंगल ट्रि हिल भन्ने स्थानमा फुलैफुलका बगैंचाहरुको पनि चर्चा भइरहेको हुँदा यहि सिंगल ट्रि हिलमै गएर विषयवस्तुको खोजी र सामग्री संकलन गर्न भनी हामी उतातिर हुइँकियौं ।
साथीहरुलाई सोध्दा सिंगल ट्रि हिल इचंगु नारायण जाने बाटोमा पर्छ भन्नेसम्म थाहा भयो । तर ठ्याक्कै कता पर्छ थाहा थिएन । बाटोमा सोधेपछि देखाइदिहाल्छ नि भनेर सोचें । गुगल म्यापको सहारा लिने विचार पनि आएन ।
गयौं हामी उतातिर, बाटोमा हेर्दै गयौं । स्वयम्भु रिंगरोड कटेर हल्चोकतिर बढ्दै गयौं । जति जति अगाडी पुगियो, सयपत्री फुलहरु खेतहरुमा झुल्न थाले, तर सिंगल ट्रि हिल देखिएन ।
इचंगु नारायण पनि पुगियो, तर अहं सिंगल ट्रि हिल भेटिएन । इचंगु नारायणका पुजारी श्रीमद राजोपाध्यायलाई सिंगल ट्रि हिल कता पर्छ भनेर हामीले सोध्यौं ।
‘खइ, यो सिंगल ट्रि हिल कता भनेर धेरैले सोध्न आइसके तर मैले अहिलेसम्म यो सिंगल ट्रि हिल देखेको छैन, तलतिरै हो कि’ पुजारी राजोपाध्यायको उत्तर ।
बाटोमा भएका पसल, भेटेका महानुभावहरुलाई पनि सोध्यौं हामीले, अहं कसैलाई पनि थाहा रहेनछ ।
अब त हामीले पनि सोच्यौं, यो सिंगल ट्रि हिल यहाँ छँदैछैन, अन्त कतै पो हो कि । नत्र यहिँका स्थानीय वासिन्दालाई त थाहा भइहाल्थ्यो नि ।
खेतमा सयपत्री फुलहरु फुलिरहेका त थिए, तर उजाड देखिन्थ्यो । खेतमा फुल कृषकहरु पनि खासै देखिएन । सिंगल ट्रि हिल त यता छँदैछैन भन्ने हामीले निर्णय नै गरिसकेका थियौं ।
अब यहाँबाट सामग्री के लिएर जाने त ? केही त लेख्नुपर्यो । जाउँ न त आकाशदेवीमा, आकाशदेवीकै बारेमा केही लेख्नुपर्ला । यस्तो सोच्दै आकाशदेवीतिर हामी लम्कियौं ।
जब आकाशदेबी चढ्ने खुड्किलोको तल हामी पुग्यौं, त्यहाँ एउटा रिसोर्ट र एउटा खाजाघरको बोर्डमा हामीले देख्यौं, ‘सिंगल ट्रि हिल (हल्चोक)’ ।
यहि आकाशदेवीको डाँडालाई नै सिंगल ट्रि हिल भनिन थालिएको रहेछ ।
हाल काठमाडौँ उपत्यकाको विभिन्न स्थानको मौलिक नाम हराउँदै गइरहेको अवस्था छ । कुनै स्थानको नाम भनेको मात्र नाम हुँदैन । स्थान वा क्षेत्र विशेषको मौलिक नामसँग त्यो स्थानको ईतिहास, संस्कृति लगायत विभिन्न पक्ष जोडिएको हुन्छ । नाम हराउनु भनेको ती ऐतिहासिक, सांस्कृतिक पक्षहरु पनि हराएर जानु हुन्छ ।
काठमाडौं उपत्यकाका स्थानहरुको नाम विभिन्न कारणले परीवर्तन हुँदै गएको देखिन्छ । विगतमा स्थानीय नेवारले तिंख्यः भन्ने गरेको चौरलाई राजा महेन्द्रकी पत्नीको नामबाट रत्नपार्क बनाइयो । योसँगै उक्त चौर टुँडिखेलकै भाग हो भन्ने कुरा अहिलेका पुस्तालाई जानकारीमा रहेन । यस्तै एउटा फिल्मको कार्यालय र पोस्टर राखेको भरमा फिब्वको नाम माईतीघर हुन गयो । फिब्व माईतीघरमा बिलाएसँगै यहाँको फिब्व अजिमाको अस्तित्व पनि मेटियो ।
यस्तै भएको छ, सिंगल ट्रिमा । हल्चोकमा सिंगल ट्रि उदाएसँगै आकाशदेवी हराएकि छिन् ।
हल्चोक निवासीको इष्टदेवताको रुपमा आकाश भैरवलाई लिइन्छ । सोही आकाशभैरवबाट करिब २०० मिटर माथि उत्तरतिर डाँडामा आकाश भैरवको शक्ति रुपमा आकाशदेवी विराजमान छिन् । सोही डाँडामा एउटा मात्र रुख छ र त्यही रुख मुनि आकाशदेवी विराजमान छिन् । सोही रुखको नामबाट आकाशदेवी स्थानको नाम परिवर्तन भई अहिले सिंगल ट्रि हिल भनिन थालिएको छ ।
नाम कसले परिवर्तन गर्यो त थाहा भएन, तर यहाँ अचेल निकै चलहपहल बढेको छ । चहलपहल बढेसँगै आकाशदेवी स्थानलाई सिंगल ट्रि हिल भन्न थालिएको रहेछ ।
जसरी माईतीघरसँगै फिब्व अजिमाको अस्तित्व हरायो, त्यसरी नै यहाँ आकाशदेवीको ईतिहास मेटिने डर पनि बढेको छ
‘विगतमा यो ठाँउलाई आकाशदेवी भनेर नै चिनिन्थ्यो तर अहिले करिव एक/डेढ वर्ष जति भयो, मान्छेहरुको चहलपहल बढेसँगै एउटा मात्र रुख भएको ठाँउ भनेर सिंगल ट्रि हिल भन्न थालिएको छ‘ हल्चोक आकाशभैरव गुठीका अध्यक्ष सागर पुतुवारले भन्नुभयो ।
त्यहाँबाट देखिने काठमाडौँ शहरको एरियल भ्यू मज्जाकै छ । काठमाडौंको सोही एरियल भ्यू हेर्न धेरै मान्छे यहाँ पुग्ने गरेका पनि छन् । त्यस्तै जोडिहरुको लागि त यो ठाउँ डेटिङ्ग स्पट नै बनेको छ । पर्यटकिय गन्तव्यको रुपमा उक्त ठाउँको सम्भावना प्रचुर नै छ ।
चहलपहल त बढ्यो, यसले स्थानीयको आयश्रोतमा पनि टेवा पुर्याउला । तर जसरी माईतीघरसँगै फिब्व अजिमाको अस्तित्व हरायो, त्यसरी नै यहाँ आकाशदेवीको ईतिहास मेटिने डर पनि बढेको छ । यसरी नाम परिवर्तन गर्दा आकाशदेवीको अस्तित्व समेत हराउन सक्ने विचार राख्नुहुन्छ, हल्चोक आकाशभैरव गुठीका अध्यक्ष पुतुवार ।
आकाशदेवी नाम मात्र होइन, हाम्रो धर्म, संस्कृति हो, सभ्यता हो,’ पुतुवारले भने । ‘आकाशदेवीको नाम फेरिएमा भोलि गएर डाँडाको मात्र होइन, देवीको नाम समेत सिंगल ट्रि गडेस भन्न के बेर ।’
नेपालको नाम विश्वको जुन कुनाकाप्चामा गएपनि नेपाल नै रहन्छ । त्यस्तै चरिकोट, नगरकोट आदिको नाम विभिन्न समुदायको भाषा अनुसार, वा क्षेत्र विशेष अनुसार परिवर्तन भएका छैनन् । तर काठमाडौं उपत्यकाका स्थानहरुको मौलिक नामहरु भने धमाधम हराउँदै गएका छन् ।
बाङ्गेमुढामा थायमरु हरायो, भेडासिंले भ्याःचाद्यः निलेको छ । ईन्द्रचोकमा वंगः कता बिलाएछ खइ । न्यतमदु अजिमलाई मान्छे खाने नरदेवी बनाइयो, रक्तकाली पुगेका मान्छेहरुले कुलांभुल कता हो भनेर सोधेर बस्नुपर्ने स्थिती आयो ।
यी त सानो उदाहरणमात्र हो । काठमाडौं उपत्यकाका टोल वा स्थानका प्राय मौलिक नामहरु हराइसके । अब आकाशदेवी पनि यसरी नै हराउने स्थितीमा पुगेको छ, सिंगल ट्रि हिलसँगै ।
फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in बिचार