arin enterprises

आममाफीविरुद्ध सर्वाेच्चमा रिट दर्ता

SamacharDesk | २०८० जेठ १६, मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई दिएको आममाफी विरुद्ध रिट दर्ता भएको छ ।

टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले आममाफी दिने सरकारको निर्णय रोक्न आइतबार नै पेश गरेको रिट निवेदन सर्वोच्चले आज दर्ता गरेको हो ।

सर्वोच्चमा दर्ता भएको रिट निवेदनमा नेपाल कानून, कानूनले तोकेको कार्यविधि, सर्वोच्च अदालतको विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तहरु समेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र सोही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषेध लगायतका आदेश जारी गर्न माग गरिएको छ ।

यस्तै रिट निवेदनमा चौधरीलाई माफी दिनुको कुनै वस्तुनिष्ठ र तर्कसंगत कारणहरु रिट निवेदनका विपक्षीहरुले सार्वजनिक गर्न नसकेको जिकिर गरिएको छ ।

यस्तै  चोधरीले उच्च अदालत दीपायल र जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको पुनरवलोकन निवेदनमा जिल्ला अदालतकै फैसला सदर हुने सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआउँदै हतारमा माफी दिई कैद मुक्त गर्नुको प्रमुख कारण चौधरीको श्रीमती अहिलेको मन्त्रिपरिषदको सदस्य हुनुबाहेक अर्को नदेखिएको जिीकर रिट निवेदनमा छ।

यस्तै रिट निवेदनमा मुद्दाको सुनुवाई तत्काल नभए रिट निवेदनको औचित्यनै समाप्त हुने भन्दै अग्राधिकारको समेत माग गरिएको छ । उक्त रिट निवेदनमा सुनुवाई गर्न बुधबारका लागि पेशी तोकिएको छ ।

Categorized in राष्ट्रिय