हत्याको मुद्दामा फरार महिला १६ वर्ष पछि पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ माघ २२, मंगलबार

कर्तव्य ज्यान मुद्दामा विगत १६ वर्षदेखि फरार रहेकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् ।
२०६५ को एउटा हत्याको घटनाको सम्वन्धमा फरार रहेकी साविक चितवन बगौडा गा.वि.स.१० खैरहनी हाल माडी नगरपालिका १ की मोरङ जिल्ला विराटनगर महानगरपालिका बस्दै आएकी शिवकुमारी सापकोटालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
२०६५ भाद्र २६ गते भक्तपुर जिल्लाको नंखेल गा.वि.स.–१ काक्राबारीस्थित सडकमा करीब २८ वर्षकी शान्ता घिमिरेको टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
यसै घटनामा संलग्न रहेको आरोप लागेकी सरु अर्थात सरस्वती भनिने ४१ वर्षीया शिवकुमारी घटना लगत्तै फरार रहेकी थिइन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शिवकुमारीलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ पछि शिवकुमारीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।
Categorized in अपराध