arin enterprises

राज्यसत्ता पंचायती मानसिकताबाट ग्रसित रहेको अभियानकर्मीको आरोप

SamacharDesk – बिराज | २०७७ फाल्गुण १८, मंगलबार

वर्तमान सरकारले राज्य सत्ताले अझै एक भाषा नीतिलाई निरन्तरता दिँदै भाषिक दमनलाई निरन्तरता दिएको अभियानकर्मीहरुले बताएका छन् ।

बालाजु सडक विस्तार काण्डमा नेपालभाषा बोलेको भन्दै प्रहरीले अभियानकर्मीहरुलाई पक्राउ गरेको विरोधमा आज ईन्द्रचोकमा आयोजित विरोध सभाका वक्ताहरुले राज्यले आफैं संविधान मिचेर मातृभाषाको दमन कायम राखेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै बालाजु काण्डमा गत बुधबार पक्राउ परेर आज रिहा भएका महेश्वर मानन्धरले संविधानले दिएको मातृभाषा बोल्ने अधिकार राज्यले खोस्न मिल्छ र भन्दै प्रश्न गरे ।

‘मैले मेरो दाजुभाईसँग मेरो मातृभाषामा कुरा गर्छु, मलाई कसले रोक्ने ?’, मानन्धरले भने । ‘संविधान दिएको अधिकार खोस्न खोज्ने प्रहरी प्रशासन के संविधानभन्दा माथि हो ?

त्यस्तै अभियानकर्मी इन्दु ज्यापुनीले नेपालभाषा बोल्नु कुनै अपराध नभएको भन्दै नेपालभाषा बोल्यो भनेर राज्य वा प्रहरी प्रशासनले सके कारवाही गरी देखाउन चुनौती दिए ।

अर्का अभियानकर्मी श्रृजनमान श्रेष्ठले विगतमा पद्मरत्नलाई कारागारमा आमासँग पनि नेपालभाषामा कुरा गर्न नदिँदाको पीडा सम्झिँदै भने, ‘आज न पंचायतकाल हो, न राजतन्त्र हो । जनताको शासनमा जनतालाई मातृभाषा बोल्नलाई रोक्ने कसले ?’

राज्यसत्ता अहिलेसम्म पनि पंचायती मानसिकताबाट ग्रसित रहेको श्रेष्ठकाे भनाई थियो ।

गत बुधबार बालाजु काण्डमा पक्राउ परेका महेश्वर मानन्धर, उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि, मीन शाही, रुक्षित श्रेष्ठ, संजय तामाङ, दिपेन श्रेष्ठ, भिम देव श्रेष्ठ र विरोचन श्रेष्ठ आज रिहा भएलगत्तै ईन्द्रचोकमा विरोध सभामा पुगेका थिए ।

रिहा भएका अभियानकर्मीहरु ईन्द्रचोक पुगे लगत्तै मैनवत्ती र्याली शुरु गरिएको थियो । विजयोत्सवको साथमा राज्यले भाषिक, सांस्कृतिक र भूमिमाथि दमन जारी राखेको विरोध स्वरुप मैनवत्ती र्‍याली गरिएको आयोजकले जनाएको छ ।

ईन्द्रचोकबाट शुरु भई क्षेत्रपाटीमा सम्पन्न हुने भनिएको र्‍याली क्षेत्रपाटीबाट फेरी कालिमाटी पुगेको थियो । रिहा भएका अभियानकर्मीहरुलाई कालिमाटीमा सम्मान कार्यक्रम रहेको जानकारी पाएपछि र्‍याली उतैतिर गई सम्मान कार्यक्रममा समेत सहभागी भएको थियो । 

फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in समाज