arin enterprises

नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडिबी

SamacharDesk | २०८० चैत्र २९, बिहिबार

नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक २०८० ले आर्थिक वर्ष २०८०/८१ मा उक्त वृद्धि हुने प्रक्षेपण गरेको हो ।

जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १ दशमलब ९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरुपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैङ्कले स्पष्ट गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०÷८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु, बैङ्कले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार तथा लोडसेडिङमा कमीबाट औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ ।

बैङ्कले पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतको मुद्रास्फीति न्यूनीकरणसँगै नेपालको औसत मुद्रास्फीति गत आर्थिक वर्षको ७ दशमलव ७ को तुलनामा चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

यसैगरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् १९६६ मा स्थापित एडिबीमा एसिया(प्रशान्त क्षेत्रका ४९ सहित ६९ सदस्यहरूको स्वामित्व रहेको छ ।

Categorized in बिजनेस