अमेरिकाबाट आयो अधुरो सपना
SamacharDesk – बिजयरत्न | २०७८ जेठ २०, बिहिबार

अमेरिकाको क्यान्सस् राज्यबाट गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ ।
क्यान्ससमै आयोजित एक कार्यक्रमका बीच क्यान्ससमा रहेका नेपाली समाजसेवी, र गीतकार श्रेष्ठकै परिवारको उपस्थितीमा एल्बम सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै गीतकार श्रेष्ठले आफ्नो मातृभूमि छोडेको ३ दशक भइसकेर पनि आफ्नो भाषा र भेषलाई भुल्न नसकेको बताउनुभयो । मातृभूमिको सम्झना आउने समयमा नेपाली गीतसंगीतलाई मन भुलाउने र मनको भारी बिसाउने चौतारीको रुपमा लिएका उहाँले बताउनुभयो ।
गीतकार रिमा ३ दशक अगाडीबाट अमेरिकालाई आफ्नो कर्मथलो बनाएर उतै रहँदै आएकि छिन् ।
सार्वजनिक गरिएको एल्बम् ‘अधुरो सपना’ मा जम्मा ७ वटा गीतहरु रहेको छ ।
गीतहरुमा वरिष्ठ अम्बर तुम्बापो सुब्बा, येदिन गजमेर र अनुप रेग्मीको संयुक्त संगीत रहेको छ भने स्वरुप राज आचार्य, अन्जु पन्त, अनुप रेग्मी, विन्दु परियार, कर्णवीर, विद्या तिवारी, राजेश पायल राई, मेघा श्रेष्ठ र केभिनग्लान तामाङले आवाज दिएका छन् ।
सोही एल्बमको गीत ‘निष्ठुरी नसम्झ’ को म्यूजिक भिडियो पनि नौलो डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
म्यूजिक भिडीयोको निर्देशन एकान्त मगरले गरेका छन् भने कर्णवीर र मनिषा कार्कीको अभिनय रहेको छ ।
अरु गीतहरुको पनि भिडियो बनाउने तयारी भईरहेको गीतकार श्रेष्ठले जानकारी गराउनुभयो ।
Categorized in पेजथ्री