arin enterprises

विद्यार्थीहरुको अद्वितीय प्रतिविम्ब फेशन सो सम्पन्न

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ चैत्र २५, शुक्रबार

गत चैत २३ गते बुधबारको साँझ । समय छिप्पिदै गयो, साथै माहौल गर्मिदैँ गयो ।

र्‍याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बढ्न थाल्यो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुपरंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । यो एउटा फेशन शो त थियो नै, साथमा विद्यार्थीहरुको फाइनल परीक्षा समेत थियो ।

नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा यो फेसन शो भएको थियो । र विद्यार्थीहरुको परीक्षाको रुपमा आयोजना भएको यो फेसन शोको शिर्षक थियो, ‘अद्वितिय प्रतिबिम्ब’ ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको कार्यक्रममा ११ वटा विभिन्न कलेक्सन अन्तर्गत ८२ वटा रेगुलर तथा ११ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत भएका थिए ।

करिब तीन घण्टासम्मको अद्वितिय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीज्बाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्द्रीत पहिरनहरु देख्न पाइएको थियो ।

यसैगरी बोटविरुवा र तीसँग जोडिएको अन्डरग्राउन्ड जीवन, समुद्री जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा अवलोकन गर्न पाइएको थियो ।

२३ जना युवती र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १६औं ब्याचका ८२ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न भएको थियो ।

कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा संचारकर्मी तथा चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् ।

सोही कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित पहिलोे फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल तुलाधरबात संयुक्त रुपमा विमोचन गरिएको थियो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिष्ट निलिमा तामाङ, द हिडेन ट्रेजरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुल मान शाक्यले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।

Categorized in पेजथ्री