नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र ७, बुधबार

नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सम्पन्न साधारण सभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमर अशक्त प्रहरी तथा आश्रित परिवारलाई सदैव साथ सहयोग होस् भन्ने भावनाले नै नेपाल प्रहरीको स्मारक गुठीको स्थापना भएको बताए ।
गुठीले नेपाल प्रहरीका अमर अशक्त तथा आश्रित प्रहरी परिवारसँग एकआपसमा बाँध्न सक्ने भूमिका निर्वाह गरेको उल्लेख गरे ।
अक्षयकोष लक्षित वर्गप्रतिको सेवाप्रवाहमा थप कल्याणकारी योजना एवम् सिर्जनशील कार्यक्रम ल्याउनुपर्ने बताउँदै लक्षित वर्गप्रति सेवा महसुस हुने गरी अक्षयकोषको परिचालन हुनुपर्नेमा कुँवरले जोड दिए ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, प्रहरी निरीक्षक विकाश तामाङले प्रहरी संगठन र स्मारक गुठीलाई लिएर आआफ्ना विचार राखेका थिए ।
साधारण सभामा आगामी दिनमा अमर प्रहरीका परिवारलाई लक्षित गरी संचालन गर्न उपयुक्त हुने कल्याणकारी कार्यक्रम सम्बन्धि सुझाव संकलन, गुठीको संशोधित विधान र आर्थिक वर्ष २०७९/८० को खर्च विवरणको प्रस्तुति तथा अनुमोदन गरिएको थियो ।
Categorized in समाज