arin enterprises

भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने

SamacharDesk | २०८० पौष १९, बिहिबार

नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् ।

बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने सम्झौता भएको छ ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिनुभयो। 

उहाँले दुई देशका ऊर्जा सचिवबिचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताउनुभयो।

नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने सहमति भएको छ ।

हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमति भएको छ । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।

त्यसैगरी, दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

Categorized in राष्ट्रिय