हावाबाट विजुली निकाल्न ‘हावा प्रोजेक्ट २.०’
SamacharDesk | २०८० पौष १७, मंगलबार

नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ ।
जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ ।
आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ ।
यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्न सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’ नरेश महर्जनले बताए ।
सोमबार कलेजमा विद्यार्थीहरू सँगको प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे ।
२०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् ।
अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ । नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने ।
जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ ।
नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।
प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ । त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ ।
Categorized in विज्ञान-प्रविधी