ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २८, आइतबार

बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमा छोरी दुवैलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
यसअघि उनका ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि बच्चन परीवारको परिक्षणको क्रममा ऐश्वर्या र आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको हो ।
शुरुमा एन्टिजेन परिक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर पिसिआर परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ ।
अमिताभकी श्रीमति जया भादुडी बच्चनको रिपोर्ट भने नेगेटिभ आएको मन्त्री तोपेले जनाएका छन् ।
हाल उनीहरु उपचारका लागि नानावती अस्पतालमा भर्ना भएका छन् । अमिताभ र अभिषेक हिजै नानावती अस्पतालमै भर्ना भइसके । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।
अमिताभलाई श्वासप्रश्वासमा सामान्य समस्या
यसैबीच बलिउडका महानायक अमिताभको स्वास्थ्य स्थिर भएपनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
७७ वर्षीय अमिताभको उमेर र पुरानो स्वास्थ्य समस्याका कारण उनलाई गार्हो हुने सम्भावना रहेको अस्पतालले जनाएको छ ।
बच्चन परिवारको घर सिल गरिएको छ भने आसपासका क्षेत्रमा स्यानिटाइज गरिएको छ ।
Categorized in पेजथ्री