arin enterprises

खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउने विरुद्ध अकुपाई टुंडिखेलको विरोध

SamacharDesk – समाचारडेस्क | २०८० पौष २९, आइतबार

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटवल ग्राउण्ड बनाउने भएपछि विरोध सुरु भएको छ ।

आइतवार ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विज्ञप्ती जारी गरी महानगरको सो योजनाको विरोध गरेका छन्।

महानगरले उपभोक्ता समितिमार्पmत दुईवटा फुटबल ग्राउण्ड निर्माण गर्न लागेको हो । करिब ५ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको दुईवटा फुटबल ग्राउण्ड निर्माण गर्न लागेको हो ।

मुक्त टुँडिखेल ९अकुपाई टुँडिखेल०का संयोजक विजय श्रेष्ठले जारी गरेको विज्ञप्तीमार्फत खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व रहेकाले यहाँ फुटबल ग्राउन्ड बनाउँदा त्यसले ती गतिविधिमा असर पुर्‍याउने भन्दै उनीहरूले विरोध जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘खेलमैदान काठमाडौंको आवश्यकता हो भन्ने कुरामा दुई मत छैन। तर खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो। कयौं मूर्त र अमूर्त सांस्कृतिक सम्पदा भएको यो स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी पनि हो,’

प्रेस विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा अन्य कार्यहरू हुन नसक्ने स्थिति देखिन्छ। जनताले ऐतिहासिक समयदेखि आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुलामञ्चलाई यथास्थितिमा जोगाएर राख्नुको कुनै विकल्प छैन।’

‘मुक्त टुँडिखेल’ अभियानका अनुसार यहाँ कुनै प्रकारको निर्माण वा हस्तक्षेप गर्नु गलत हो। हाल ताला लगाइ राखेको खुलामञ्चलाई खुला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसार क्रियाकलाप गर्न दिन उनीहरूले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

काडमाडौं महानगरपालिकाको खुलामञ्च अतिक्रमणको यो पहिलो प्रयास भने होइन । यसअघि २०७३ देखि २०७८ सालसम्म बसपार्क राखिएको थियो ।

सर्वसाधारणको विरोधपछि खुलामञ्चबाट बसपार्क त हटाइयो तर सर्वसाधारणको पहुँच भन्दा बाहिर नै रह्यो । तत्पश्चात बालेन्द्र शाह मेयर भएपछि ट्रिपल बेसमेन्ट पार्किङ बनाउने योजना ल्याएको थियो त्यसको पनि अकुपाई टुंडिखेल तथा सर्वसाधारणको विरोधपछि पछि हट्न बाध्य भएका थिए ।

यस विषयमा बोल्दै अकुपाइ टुंडिखेलका प्रवक्ता संजय अधिकारीले ऐतिहासिका लैनचौरको जुन हालत अहिले भइरहेको छ त्यही हालत खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउँदा नआउला भन्न नसकिने बताउनु हुन्छ ।

वडा नं. २६ स्थित लैनचौरमा यतिबेला दिनुहँुजसो फुटबल खेल्नेहरुको भिड भइरहन्छ जसले गर्दा सर्वसाधारणले प्रवेश त पाउँछ तर आफ्नो चाहेको कार्यक्रम, गतिविधि गर्नबाट वन्चित भएको उहाँ बताउनुहुन्छ ।

उहाँले खुलामञ्च सरकारी जग्गा नभई सार्वजनिक जग्गा भएको हुनाले सर्वसाधरणको पहुँचमा हुनुपर्ने बताए । खुलामञ्च टुँडिखेलको अभिन्न अंग हो । 

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको छ । हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ ।

Categorized in स्थानीय