arin enterprises

अवस्था सामान्य देखिएपनि सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

SamacharDesk – बिराज | २०७९ चैत्र २१, मंगलबार

पछिल्लो समय नेपालमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको अवस्थामा सुरक्षाका उपाय अपनाउन विशेषज्ञहरुले सुझाएका छन् । हाल देखिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य नै देखिएको भएपनि जटिल अवस्था आउन नदिन सतर्कता अपनाउनु नै राम्रो हुने विशेषज्ञहरुले बताएका छन् ।

समाचारडेस्कसँग कुरा गर्दै क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अहिले सामान्य रुघाखोकी लागेका व्यक्तिहरुको कोभिड परिक्षण गर्दा पनि कोभिड पोजेटिभ देखिने गरेको बताउँदै सतर्ककता अपनाउन आम सर्वसाधारणमा आग्रह गरे ।

कोरोना भाईरसका नयाँ संक्रमितहरुमा जीउ दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षणहरु देखा परिरहेको र अवस्था सामान्य नै देखिएको डा. श्रेष्ठले बताए ।

‘नयाँ संक्रमितहरुको अवस्था त सामान्य नै देखिएको छ । तर, संक्रमण बढ्दै गएर फेरी महामारीकै रुप लिए के कस्तो होला अहिल्यै भन्न सकिने अवस्था छैन । त्यसैले सतर्कता अपनाएर सुरक्षित हुनु राम्रो’ डा. श्रेष्ठले भने ।

रुघाखोकी लागे वा ज्वरो आएमा अरुबाट टाढा भएर बसिदिने र आम सर्वसाधारणले पनि मास्क, स्यानिटाइजर प्रयोग गर्नुका साथै सकेसम्म सामाजिक दुरी कायम गर्ने गरेमा अवस्थालाई नियन्त्रणमा राख्न सकिने श्रेष्ठको भनाई छ ।

त्यस्तै, पेट तथा कलेजो विशेषज्ञ डा. सुशील प्रजापतिले पनि मास्क, स्यानिटाइजर, सामाजिक दुरी लगायतका सुरक्षाका उपाय अपनाउन सुझाए । कोभिड पोजेटिभ भएर भख्खरै मात्र आइसोलेसन बसेर बाहिर निस्केका डा. प्रजापतिले पनि अवस्था सामान्य देखिएपनि हेलचेक्य्राईँ नगर्न सबैमा आग्रह गरे ।

आफुलाई पनि रुघाखोकी, हल्का घाँटी दुख्ने लगायतका सामान्य लक्षण मात्र देखा परेको बताउँदै डा. प्रजापतिले विगतमा जस्तो कडा नदेखिएपनि सतर्कता अपनाउनु वेश हुने विचार राखे ।

‘सामान्य देखियो भनेर हेप्नु पनि हुन्न । भविष्यमा स्वरुप परिवर्तन होला कि नहोला, झन नरम हुँदै जाला कि कडा होला, अहिल्यै भनिहाल्न सकिन्न । त्यसैले आफैं सतर्क भएर स्थितीलाई नियन्त्रणमा राख्न सबैले आआफ्नोतर्फबाट सहयोग गरौं’ डा. प्रजापतिको भनाई हो ।

नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या घटेर एक अंकमा झरिसकेको अवस्थामा हाल फेरी कोभिड १९ का नयाँ संक्रमितको संख्या दैनिक रुपमा बढ्दो क्रममा छ । सोमबार मात्रै एक हजार १५१ नमूनाको परिक्षण गरिएकोमा ७६ जना नयाँ संक्रमित फेला परेका छन् । हाल जम्मा २२७ जना सक्रिय संक्रमित उपचाररत छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सम्भावित जोखिमबाट बच्न, बचाउन सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले गत सोमबार विज्ञप्ती जारी गर्दै छिमेकी मूलुकमा कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.16 को संक्रमण फैलिरहेको हुँदा सीमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुलाई सीमानाकामै परिक्षण गर्ने गरिएको जनाएको छ ।

परिक्षणमा नतिजा पोजेटिभ आएमा आवश्यक परामर्श साथै थप उपचार गर्नुपरेमा अस्पतालमा उपचारको व्यवस्था मिलाइएको पनि जनाएको छ ।

 

Categorized in राष्ट्रिय