अमेरिकी सांसद र प्रधानमन्त्रीबीच भेटवार्ता
SamacharDesk | २०७९ बैशाख १०, शनिबार

हिजो नेपाल आइपुग्नु भएका अमेरिकी सिनेट तथा सांसदहरुको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग सिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिनेटर किस्टर्न जिलिब्रान्ड नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटवार्ता गरेको हो । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचार आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ ।
नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरिएको र जलवायु परिवर्तनजस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।
चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो । टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स हुनुहुन्छ । टोलीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटेको थियो ।
उनीहरूसंग आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सिनेटरको टोली आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय