arin enterprises

ललितपुर जिल्ला फुटबल संघका थापा निलम्बनमा

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ६, मंगलबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै आगामी साधारणसभासम्मका लागि थापालाई निलम्बन गरिएको जनाएको छ । 

थापाले एन्फा विधानको विपरित सामाजिक सञ्जालमा एन्फाकै एक पदाधिकारी माथि अपशब्द बोलेको भन्दै निलम्बन गरिएको हो ।

उनको यस कार्यप्रति कारवाही स्वरुप एन्फाले जेठ ५ गतेदेखि लागूहुने गरी यो कदम चालेको हो ।

यससँगै जिल्लाको कार्यभार महासचिव प्रविण श्रेष्ठलाई दिइएको छ ।

गत बैशाख २२ गते एन्फा दिवसको अवसरमा एन्फाका उपाध्यक्ष पंकज नेम्बाङले भाइबरको समूहमा दिनुभएको शुभकामना सन्देशको प्रतिउत्तरस्वरुप अपशब्द लेखेको भन्दै एन्फाले बैशाख २४ गते थापासँग ४८ घण्टा भित्र स्पष्टिकरण मागेको थियो । तर बैशाख २६मा प्राप्त स्पष्टिकरण पत्रमा चित्तबुझ्दो जवाफ नआएको भन्दै एन्फाको बैठकले थापालाई आउँदो साधारणसभासम्मका लागि निलम्बन गरेको हो ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबरको समूहमा एन्फा दिवसको शुभकामना दिएकोमा उनले असन्तुष्टि जनाउँदै ‘आज एन्फा दिवस होइन । चोरहरूको श्री गणेश डे हो’ भनी लेखेका थिए ।

स्पष्टीकरणमा थापाले ‘आफूहरुले चुनाव हारेको दिन कसरी एन्फा दिवस मनाउने ? कसरी निर्णय भयो’ लगायतका प्रतिप्रश्न उठाएका थिए । 

साथै फिफा वा एएफसीसँग आवद्ध भएको दिन वा अरु कुनै अविस्मरणीय दिनलाई एन्फा दिवस मनाउन उनले माग गरेका थिए ।

यद्यपि आक्रोशमा बोल्दा गल्ती भएको भए माफी माग्ने भन्दै वैशाख २६ गते जवाफ पठाए । 

उनले एन्फा दिवसलाई आफूले भावानात्मक रुपमा आफ्नो मान्न नसकिएकोले ‘चोरहरुको दिवस’ भन्न बाध्य भएको ब्यहोरा दर्शाएका थिए ।

त्यसको १० दिन पश्चात् एन्फाबाट थापाको निलम्बन पत्र आयो जसमा कार्यकारी अध्यक्षका रुपमा महासचिव प्रविण श्रेष्ठलाई मनोनित गरिएको थियो ।

एन्फाको यो कदमपछि थापाले प्रतिशोधपूर्ण निर्णय लिएको भन्दै यस विरुद्ध रा.खे.प.मा अपिल गर्ने बताए । 

Categorized in स्पाेर्ट्स