बुद्धकालीन कथा ’अंगुलीमाल’ को चलचित्र बन्ने
SamacharDesk – बिराज | २०७८ श्रावण १९, मंगलबार

बुद्धकालीन जातक कथा ‘अंगुलीमाल’ को चलचित्र बन्ने भएको छ ।
मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । सोही कार्यक्रममा चलचित्रका निर्माता सुरेन्द्र श्रेष्ठ र अंगुलीमाल कथाबस्तुका लेखक रामेश्वर भुजुबीच सहमति पत्रमा हस्ताक्षर पनि गरिएको छ ।
फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रको निर्माण गर्न लागेका हुन् । कार्यक्रममा निर्माता श्रेष्ठले आउँदो दसैं र तिहारको बीचमा चलचित्रको शुभमुहूर्त गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
‘बुद्धको जन्मको विषयमा गलत प्रचार भइरहेको छ । यो चलचित्रको निर्माण पछि देशविदेशमा प्रदर्शन गर्दै बुद्धको जन्म नेपालमै भएको हो भन्ने कुराको प्रचार गर्ने उद्देश्य हामीले लिएका छौं’ श्रेष्ठले भने ।
चलचित्रका निर्देशक अभय डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने र यसमा समय पनि लाग्ने भएकोले चलचित्र निर्माण सम्पन्न हुन करिव दुई वर्ष लाग्ने बताए ।
कार्यक्रममा चलचित्रका कथावस्तुका लेखक भुजु, नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा भक्तपुर लेडी जेजिसकी गुजेश्वरी प्रजापति, कुतः प्रकाशनका विमल ताम्राकार, विराट भक्तपुर एफएमका अध्यक्ष लक्ष्मण पलिखेल, धनेशराज राजोपाध्याय, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुबाजी साःछेँ श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री