arin enterprises

एकिकृत आन्दोलनको घोषणा गर्दै खोकनामा नेवाः एकता दिवस मनाइने

SamacharDesk – बिराज | २०७७ माघ ७, बुधबार

यस वर्ष ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रुपमा खोकनाको खुदोलमा मनाइने भएको छ ।

नेवाः देय् दबूबाट आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबूका अध्यक्ष नरेश ताम्रकारले सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त बनाउने दिनको रुपमा यस वर्षको नेवाः एकता दिवस मनाउने बताउनुभयो ।

सडक विस्तार, फास्ट ट्र्याक लगायतका सामाजिक मुद्दादेखि लिएर नेवाः स्वायत्त राज्यसम्मको राजनीतिक एजेन्डालाई पनि सशक्त ढङ्गले उठाउँदै नेवाः आन्दोलनलाई अघि बढाउने ताम्रकारले बताउनुभयो ।

‘नेवाः भूमिमा नेवाःलाई विभिन्न विकासे योजनाको नाममा विस्थापित गरिँदैछ, नेवाः बस्ती, नेवाः सम्पदा मास्न राज्य लागिपरेको देखिन्छ,’ ताम्रकारले भने । ‘अब अलग अलग मुद्दामा संघर्षरत समूहहरु एकै ठाउँमा भेला भई एकिकृत रुपमा आन्दोलन हुनेछ ।’

गुठी विधेयक आन्दोलनको उदाहरण दिँदै ताम्रकारले राज्यले नेवाः शक्तिलाई अवमूल्यन नगर्न चेतावनी दिए ।

यस वर्ष खोकनाका ऐतिहासिक सम्पदाहरु मास्दै बनाउन लागिएको फास्ट ट्र्याकविरुद्ध भइरहेको खोकनाबासीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खोकनामै गएर नेवाः एकता दिवस मनाउन लागिएको उहाँले जानकारी गराउनुभयो ।

संविधान सभाको दोश्रो चुनावमा भाग लिने वा नलिने, संविधानलाई स्वागत गर्ने वा वहिष्कार लगायतका विषयका कारण नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिका घटकहरुबीच फरक विचारका कारण नेवाः आन्दोलनमा पनि केही समय असर परेको बताउँदै अध्यक्ष ताम्रकारले अब भने आन्दोलनलाई फेरी सशक्त बनाउँदै अघि बढ्ने उद्घोष गरे ।

‘राजनीतिक आस्थाले केही असर पक्कै गरेको हो, ७२ सालको भूकम्पले पनि आन्दोलनलाई केही सिथिल बनाएकै हो,’ ताम्रकारको भनाई थियो । ‘नेवाः एकता दिवसको दिनबाट एकिकृत रुपमा नेवाः आन्दोलन सशक्त रुपमा निरन्तर हुनेछ ।’

आउँदो माघ ९ गते विहिबारका दिन खोना घोषणा पत्र जारी गर्दै खोकनाको खुदोलमा नेवाः एकता दिवस मनाउन लागिएको छ ।

नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिको घटकहरुबाट नेवाः स्वायत्त राज्यको आन्दोलनको निरन्तरताको प्रतिवद्धता, नेवाः जातीय संघसंस्थाबाट नेवाः समाजमा विभेद नभएको सन्देशसहितको एकता प्रतिवद्धता, विभिन्न क्षेत्रमा भइरहेको नेवाः समस्यलाई लिएर आन्दोलनरत नेवाः संघसंस्थाबाट एकिकृत आन्दोलनको प्रतिवद्धता यस वर्षको नेवाः एकता दिवसको विशेषता रहने आयोजक संस्थाले जनाएको छ ।

आजभन्दा ११ वर्ष अगाडी २०६७ साल पौष शुक्ल नवमी (नेपाल सम्वत अनुसार पोहेंलाथ्व नवमी) का दिन दशरथ रंगशालामा जनस्तरबाट नेवाः स्वायत्त राज्य घोषणा गरिएको थियो । लाखौंको उपस्थितीमा नेवाः स्वायत्त राज्य घोषणा भएको सो दिनको सम्झनामा हरेक वर्ष पोहेंलाथ्व नवमीको दिनलाई नेवाः एकता दिवसको रुपमा मनाईँदै आएको छ ।

Categorized in समाज