काठमाडौं उपत्यकाभित्रै ललितपुरमा संक्रमितको मृत्यु
SamacharDesk – विकाश | २०७७ आषाढ ११, बिहिबार

आज एकैपल्ट थप दुई जना संक्रमितहरुको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्याङ्जामा एक जना र ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्याङ्जा जिल्ला आँधिखोला १ का पुरुषमा मधुमेह र श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उपचारका लागि फेवासिटी अस्पताल पोखरा लगिएको थियो भने उनलाई त्यहिँ भर्ना गरी उपचार गरिँदै थियो । गत असार ८ गते उनमा कोभिड १९ पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रिफर गरिएको थियो ।
त्यहाँ उनलाई आईसीयूमा भेन्टिलेटरमा राखी उपचार गर्दै गरेको थियो भने हिजो राती ११ः३५ बजे उनको मृत्यु भएको हो ।
त्यस्तै ललितपुर महालक्ष्मी ५ मा बस्दै आएका एक संक्रमितको पनि आज विहान मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
चितवन स्थायी घर भई ललितपुर महालक्ष्मी ५ बस्दै आएका ५० वर्षीय पुरुषको आज विहान ५ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाँच महिना अघि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गराएका उनको कोखो दुखेका कारण पुन सोही अस्पतालमा जाँदा पस फर्मेसन भएकोले अस्पताल भर्ना हुनुपर्ने भनेपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
त्यहाँ उपचारको क्रममा उनमा कोभिड १९ पोजेटिभ देखिएपछि पाटन अस्पताल रिफर गरीएको थियो । पाटन अस्पतालमा आइसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो भने आज विहान ५ बजे उनको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण भएको मृत्यु संख्या २६ पुगेको छ ।
Categorized in समाज