आज विश्व नृत्य दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ बैशाख १६, बिहिबार

आज अप्रिल २९, नृत्यकर्मीहरुका लागि आजको दिन विशेष छ । अप्रिल २९ को दिनलाई विश्वभरीमा विश्व नृत्य दिवसको रुपमा मनाइन्छ ।
विगतका वर्षहरुमा आजको दिन नृत्य सम्वन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्थ्यो ।
तर यस वर्ष भने नेपालमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन दिवस परेको छ । देशैभरि कोरोना संक्रमणको दोश्रो लहरले सताएको पनि अवस्था छ ।
यस्तो अवस्थामा यस वर्षको दिवसमा कुनै औपचारिक कार्यक्रमहरु भने हुन सकेन ।
भौतिक रुपमा भेला हुने वा औपचारिक कार्यक्रमहरुको आयोजना गर्न नसकिने भएपछि नृत्यकर्मीहरुले सामाजिक संजालमार्फत नृत्य दिवसको शुभकामना आदानप्रदान गरिरहेका छन् ।
सामाजिक संजालका भित्तामा नृत्यका भिडियो, फोटोहरु शेयर गर्दै सबैले दिवसको शुभकामना दिइरहेका छन् ।
सन १९८२ अप्रिल २९ मा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तराष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो ।
जीन जर्ज नोभेरे नामका व्यक्तिको जन्म दिनको सम्झनामा अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । नोभेरे फ्रान्सेली नृत्यकर्मी साथै ब्याले मास्टर थिए ।
ककसले कसरी शुभकामना दिए
नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले संघबाट आयोजना भएका विभिन्न कार्यक्रमहरुको फोटोसँगै दिवसको शुभकामना दिएका छन् ।
नृत्यकर्मी दिपक बज्राचार्यले विभिन्न कार्यक्रममा नृत्य गर्दै गरेको आफ्ना फोटोहरु शेयर गरेका छन् ।
नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाका अध्यक्ष प्रदिप रमण सिं डंगोलले नेवारी पहिरनमा अन्य नृत्यकर्मीहरुसँग नृत्यको फोटो शेयर गरेका छन् । त्यस्तै शाखाकी सचिव मिनर्वा शर्माले पनि सोही फोटो शेयर गरेकि छिन् ।
नेपालमा पहिलो पटक एकल नृत्य प्रस्तुति दिएका नृत्यकर्मी स्वजन रघुवंशीले शिवरात्रीका दिन पशुपति परिशरमा आफुले महादेव बनेर प्रस्तुति दिएको फोटो शेयर गर्दै दिवसको शुभकामना बाँडेका छन् ।
नृत्यकर्मी श्रृजना श्रेष्ठले नटराजको अगाडी नटराजकै शैलीमा उभिएको आफ्नो फोटोलाई प्रोफाइल फोटो बनाउँदै नृत्य दिवसको शुभकामना भनेकि छन् ।
Categorized in पेजथ्री