arin enterprises

काठमाडौंमा रुद्रायणी देवी जात्राको लागि स्थलगत निरिक्षण

SamacharDesk – बिराज | २०८० चैत्र १७, शनिबार

काठमाडौं उपत्यकाको ऐतिहासिक वस्ती खोकनाको रुद्रायणी देवी १२ वर्षे जात्रा काठमाडौंमा भव्यताका साथ सम्पन्न गर्न आज स्थलगत निरिक्षण भ्रमण सम्पन्न भएको छ ।

यहाँ काठमाडौंमा जात्रा सम्पन्न गर्नका लागि काठमाडौंमा गठन गरिएको सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिको संयोजनमा आज निरिक्षण भ्रमण गरिएको हो ।

भ्रमण टोलीले काठमाडौंको टेकु पचली, मचली, ब्रह्मटोल, कुमाःननिमा सिकाली अजिमा, वन्दे, ह्यूमत, जैसीदेगल, क्वहिति, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोट, मखनस्थित महिन्द्रेश्वर महादेव हुँदै हनुमान ढोका नासल चोकको भ्रमण गरेको थियो ।

जात्रालाई विना कुनै वाधा अवरोध व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि बाटोको र जात्रा हुने स्थानको अवस्था आदि राम्ररी बुझ्न निरिक्षण भ्रमण गरिएको ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलले बताए ।

भ्रमणमा ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष डंगोलको साथमा काठमाडौं महानगर समिति अध्यक्ष पंचलाल महर्जन, ललितपुर महानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जन, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, १७ वडाका अध्यक्ष नवीन मानन्धर लगायत उपस्थित थिए ।

आउँदो चैत्र २२ गतेबाट खोकना रुद्रायणी देवी (सिकाली अजिमा) १२ वर्षे जात्रा काठमाडौंमा सुरु हुँदैछ ।

२२ गते रुद्रायणी देवीको देवगण काठमाडौं प्रवेश गरेपछि विभिन्न टोलबाट पूजा लिनुका साथै काठमाडौंका विभिन्न स्थानमा देवगणको नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सोही क्रममा काठमाडौंको जात्रा भव्य रुपमा सम्पन्न गर्न ज्यापु महागुथि काठमाडौं महानगर समितिको व्यवस्थापनमा सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

समितिमा विभिन्न विभागहरु समेत बनाई संयोजक तोकिएको छ ।

जसमा प्रचार प्रसार विभागमा श्यामकृष्ण प्रजापति, आर्थिक जुजुकाजी महर्जन, स्वयमसेवक परिचालन किशोर श्रेष्ठ, शान्ति सुरक्षा गणपतिलाल श्रेष्ठ, स्काउट रेडक्रश र ट्राफिक व्यवस्थापन रवि तण्डुकार, महिला परिचालन विभागमा नानीहेरा डंगोललाई संयोजक तोकिएको छ ।

त्यस्तै संस्थागत समन्वयमा दिपक महर्जन, सांस्कृतिक परिचालन गोविन्द महर्जन, अतिथि सत्कार जगत महर्जन, पूजा व्यवस्थापन ज्ञानीबाबु सिंह, खाद्य व्यवस्थापनमा मचाराजा महर्जन र अन्य व्यवस्थापनमा पुष्परत्न प्रजापतिलाई जिम्मा दिइएको छ । 

Categorized in संस्कृति